काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत वर्ष आजकै दिन सुरु भएको जेनजी आन्दोलनले सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने सन्देश दिएको उल्लेख गरेकी छिन् ।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा एक सन्देश जारी गर्दै उनले भनेकी छिन्–’एक वर्षअघि आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको थियो । नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा त्यो आवाज दबाउने नाममा निर्दोष नवयुवाहरूको ज्यान लिइएको थियो । कयौँ युवाहरूले जीवनभर अपाङ्गताको पीडा बेहोर्नुपर्ने गरी घाइते हुनुपर्‍यो । उक्त घटनामा सहिद भएका सम्पूर्ण योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

उनी थप लेख्छिन् ‘त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठुलो क्षति भयो । हाम्रा कयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमे । राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ । अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन । सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आ(आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौँ ।’

जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ–’सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन । राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु’, उनले भनेकी छिन् ।

उनी भन्छिन्–’जेनजी आन्दोलनबाट भएको ठुलो जनधनको क्षतिको एक वर्ष नपुग्दै हामी अहिले भोटेकोसी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेका छौँ । यस दुःखद घडीमा हामी अझ बढी धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुनुपर्छ । एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गरौँ ।

प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com