काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेद्र शाहीले बेलीब्रिज बनाउनु नौलो कुरा नभएकाले सुरुङमार्गभित्र फसेका नागरिकहरूलाई सकुशल उद्धार गर्न तर्फ ध्यान दिन आवश्यक रहेको बताएका छन्।
अहिले धेरै मानिसहरू, स्वयं सांसदहरू, गृहमन्त्री, सत्तापक्ष र प्रतिपक्षका सांसदहरू समेत मिडिया, सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटरहरू नुवाकोटको बेत्रावतीमा बेलीब्रिज पुल बन्यो कि बनेन भनेर विवाद गरिरहेको जिकिर गर्दै उनले यस्तो बताएका हुन्।
उनले अहिलेको मुख्य समस्या बेलीब्रिज पुल नभइ सुरुङ मार्गभित्र अझै धेरै नागरिक अलपत्र रहेका र उनीहरूको जीवितै उद्धार गर्नु भएको भनाइ राखे। ‘अहिलेको मुख्य समस्या बेलीब्रिज पुल होइन। मुख्य समस्या भनेको सुरुङ मार्गभित्र अझै धेरै नागरिक अलपत्र छन्, र उनीहरूको जीवितै उद्धार गर्नु हो,’ शाहीले भने, ‘सरकारले राम्रो काम गरिरहेको छ भने सबैले साथ दिऔँ, धन्यवाद दिऔँ। राम्रो कामको खुलेर प्रशंसा गरौँ, सरकारलाई साथ दिऔँ र राम्रो काम गर्न प्रोत्साहित गरौँ।’
उनले सरकारले काम गर्न सकेन, नागरिकको जीवनसँग जोडिएका विषयमा कमजोरी गर्यो भने कसैको डर नमानी, आवश्यक परे एक्लै भए पनि सरकारको खबरदारी गर्न र सरकारलाई सही काम गर्न बाध्य पार्न आग्रह समेत गरे।
उनका अनुसार जनप्रतिनिधिको काम सरकारको गुलामी गर्नु नभइ राम्रो काममा साथ दिनु, गलत काममा प्रश्न गर्नु र आवश्यक पर्दा सरकारलाई खबरदारी गर्नु नै मुख्य जिम्मेवारी हो।
उनले बेलीब्रिज बनाउनु कुनै नयाँ र नौलो कुरा नभइ नेपाली सेनाले यसअघि पनि जुम्ला–कालीकोट सडक तिला कर्णाली नदीमाथि सेरीघाटमा छोटो समयमै बेलिब्रिज निर्माण गरिसकेको जानकारी दिए। उक्त पुलको निर्माण झन्डै एक हप्ताभित्रै सम्पन्न भएको उनले बताए।
यस विषयमा विवाद र तर्क-वितर्क गर्दै बस्नुभन्दा पनि अहिलेको मुख्य ध्यान सुरुङमार्गभित्र फसेका नागरिकलाई कसरी सकुशल उद्धार गर्ने भन्नेमा केन्द्रित गर्न उनले आग्रह गरे।
‘बेलीब्रिज बनाउनु कुनै नयाँ र नौलो कुरा होइन। नेपाली सेनाले यसअघि पनि जुम्ला–कालीकोट सडक तिला कर्णाली नदीमाथि सेरीघाटमा छोटो समयमै बेलिब्रिज निर्माण गरिसकेको छ। उक्त पुलको निर्माण झन्डै एक हप्ताभित्रै सम्पन्न भएको थियो,’ शाहीले भनेका छन्, ‘त्यसै विषयमा विवाद र तर्क-वितर्क गर्दै बस्नुभन्दा पनि अहिलेको मुख्य ध्यान सुरुङमार्गभित्र फसेका नागरिकलाई कसरी सकुशल उद्धार गर्ने भन्नेमा केन्द्रित गरौँ।’
प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार












प्रतिक्रिया