काठमाडौं। दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको छ । गत वर्ष भदौ २३ र २४ मा भएको आन्दोलनले पछिल्लो चार दशक सत्तामा रहेका नेता फेरिए, सरकार पनि फेरिएको छ ।
नयाँ व्यक्ति, नयाँ पात्र र नयाँ दल देशमा उदाएका छन् । तर, त्यही आन्दोलनमा प्रदर्शनकारीले आगजनी गर्दा क्षतिग्रस्त दर्जनौँ सरकारी संरचना अझै उस्तै छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (पुरानो संसद् भवन), सडक विभाग, सिंहदरबार, सर्वोच्च अदालत, निजी व्यावसायिक प्रतिष्ठान, दूरसञ्चार सेवा प्रदायक, पार्टी कार्यालय, नेताका घर र व्यवसायमा अझै पनि आन्दोलनमा भएको आगजनीका धब्बा मेटिएको छैन ।
भौतिक र आर्थिक क्षतिबाहेक राज्यको अभिलेखमा भएका कागजात पुनःप्राप्ति गर्न नमिल्ने गरेर ध्वस्त भए जसको असर दीर्घकालसम्म रहने छ । आन्दोलनमा क्षतिग्रस्त सरकारी कार्यालय कतिले पुरानै भवन मर्मतसम्भार गरेर प्रयोग गरेका छन् कति नयाँ ठाउँमा सरेका छन् ।
१९६० सालमा निर्मित सिंहदरबार पनि प्रदर्शनकारीको निशानामा परेको थियो । १ हजार ७ सय कोठा भएको सिंहदरबार प्रशासनिक केन्द्रको रूपमा आगजनीपछि पनि प्रयोगमै छ । तर, यहाँका मन्त्रालयका कतिपय अभिलेख भने जलेका छन् ।
जेन–जी आन्दोलनका कारण प्रभावितमध्ये जिल्ला, उच्च र सर्वोच्च अदालत सेवा प्रवाहमा फर्किएका छन् । तर, जेनजी आन्दोलनकै कारण न्यायलयमा मुद्दा फस्र्योट नै प्रभावित छ । आर्थिक वर्ष २०८१/८२ भन्दा आर्थिक वर्ष २०८२/८३ मा मुद्धा फस्र्योट १० प्रतिशत कम भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ६५.६९ प्रतिशत मुद्दा फस्र्यौट भएकोमा गत आर्थिक वर्षमा ५५ प्रतिशत मुद्दा फस्र्यौट भएका थिए । जेनजी आन्दोलनको क्रममा अदालतका ९ लाख ३६ हजार मिसिल तथा कागजात जलेको अभिलेख छ ।
चीन सरकारको सहयोगमा २०५० सालमा निर्मित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पछिल्लो एक वर्षदेखि भग्नावशेष छ । खास यो केन्द्र ठूला गोष्ठी, सभा, सम्मेलन गर्नका लागि बनाइएको थियो । पहिलो संविधानसभामा ६०१ सदस्य निर्वाचित भएको र यति ठूलो संख्यामा बैठक बस्ने अर्को ठाउँ भएन । यसकारण सम्मेलन केन्द्रलाई संसद भवन बनाइयो । नयाँ संसद भवन बनेन । जसका कारण झण्डै १८ वर्षसम्म सम्मेलन केन्द्रले संसद भवनको पहिचान पायो ।
जेन–जी आन्दोलनमा सहभागी धेरैलाई यो केन्द्र स्थापनाको उद्देश्य र इतिहास थाहा भएन । उनीहरूलाई यो संसद् भवन हो भन्ने थाहा थियो । जसका कारण आन्दोलनको क्रममा अर्ब खर्चेर बनाइएको यो महत्वपूर्ण संरचनामा आगजनी गरे । आजभन्दा साढे तीन दशकअघि १ अर्ब १५ करोड रुपैयाँ लगानीमा सम्मेलन केन्द्र बनाइएको थियो । आगजनीपछि संसद बैठक सिंहदरबारभित्र चल्न थालेको छ, तर संसदको पहिचान बनाएकै कारण सम्मेलन केन्द्र खरानी बनेको छ ।
एमाले, कांग्रेस र माओवादी पार्टी कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए । पार्टी कार्यालय मर्मतसम्भारपछि प्रयोगमा आइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र शीर्ष दलका धेरै नेताका घर खोजीखोजी आगजनी गरिएको थियो ।
करिब ३ अर्ब लगानीमा निर्मित भैँसेपाटीस्थित मन्त्री आवास प्रयोगमा आएको एक वर्षमै आगजनीमा परेको थियो । २७ वटा भवन फेरि पुनःर्निर्माणकै चरणमा छ । आन्दोलनपछि फेरि ४० करोड रुपैयाँ खर्चेर असोज मसान्तसम्मसक्ने गरी पुनर्निर्माण, इन्टेरियर, फर्निसिङको काम भइरहेको छ ।
तस्बिरमा हेर्नुहोस्, आन्दोलनमा क्षतिग्रस्त सरकारी, निजी संरचनाको तत्कालीन र वर्तमान अवस्था :

प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार












प्रतिक्रिया