काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोले ठुलो जनधनको क्षति पुर्‍याएको छ । विपद्को यस कठिन घडीमा सरकारसँगै निजी क्षेत्र पनि राहत, उद्धार र पुनर्स्थापनाका लागि सक्रिय रूपमा अघि बढिरहेको छ ।

यसै क्रममा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड १ लाख सहयोग प्रदान गरेको छ ।

वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (CEO) केशव नेपालले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले वर्ल्डलिंकले उक्त रकम प्रदान गरेको हो ।

वर्ल्डलिंकका लागि यो सहयोग केवल व्यावसायिक क्षेत्रसँग जोडिएको कुनै गतिविधि होइन, मानवीयता र राष्ट्रप्रतिको जिम्मेवारीबाट गरिएको सहयोग हो । देशका नागरिक समस्यामा परेका बेला आफु पनि प्रभावित हुँदाहुँदै उनीहरूको साथमा उभिनुपर्छ भन्ने मान्यताका साथ कम्पनीले यो सहयोग गरेको हो ।

हालैको बाढीबाट वर्ल्डलिंकको नेटवर्क तथा पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार कम्पनीले प्रत्यक्ष रूपमा करिब रु. ३.५ करोड बराबरको क्षति व्यहोरेको छ ।

तर, आफ्नै संरचनामा ठूलो क्षति भए पनि वर्ल्डलिंकले ग्राहक तथा नागरिकलाई इन्टरनेट सेवाबाट लामो समयसम्म वञ्चित हुन नदिन बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याएको छ ।

विपद्का कारण सडक, विद्युत् तथा अन्य पूर्वाधारमा समस्या उत्पन्न भएको अवस्थामा पनि वर्ल्डलिंकका प्राविधिक सम्पूर्ण टिम तथा सम्बन्धित टोलीहरू प्रभावित नेटवर्कको मर्मत तथा पुनःस्थापनामा निरन्तर खटिएका थिए ।

इन्टरनेट आजको समयमा केवल एउटा व्यावसायिक सेवा मात्र नभई सूचना, सञ्चार, उद्धार, राहत तथा आपत्कालीन समन्वयको महत्वपूर्ण माध्यमसमेत बनेको छ। त्यसैले विपद्को समयमा सञ्चार सेवा निरन्तर राख्नु पनि मानवीय सहयोगकै एउटा महत्वपूर्ण हिस्सा भएको वर्ल्डलिंकको बुझाइ छ ।

नेपालको डिजिटल कनेक्टिभिटीमा अग्रणी भूमिका निर्वाह गर्दै आएको वर्ल्डलिंकले आफ्नो व्यावसायिक जिम्मेवारीसँगै सामाजिक तथा राष्ट्रिय उत्तरदायित्वलाई पनि निरन्तर प्राथमिकता दिँदै आएको छ ।

विपद्को समयमा कम्पनीले आफ्नै पूर्वाधारमा ठूलो क्षति व्यहोरेको अवस्थामा पनि रु. १ करोड १ लाखको आर्थिक सहयोग गर्नुले संकटको समयमा मानवीय संवेदनालाई प्राथमिकता दिएको सन्देश दिएको छ ।

वर्ल्डलिंकका लागि नेपाली नागरिक केवल ग्राहक मात्र होइनन् । देशका विभिन्न भूगोल र समुदायलाई डिजिटल रूपमा जोड्दै आएको कम्पनीले विपद्को समयमा नेपाली नागरिकको दुःखमा साझेदार बन्नु आफ्नो सामाजिक र राष्ट्रिय दायित्व भएको विश्वास राखेको छ ।

वर्ल्डलिंकको यो सहयोगले बाढी तथा पहिरो प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणका प्रयासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

राष्ट्रलाई कठिन समय परेको बेला निजी क्षेत्रले सरकार र नागरिकसँग हातेमालो गर्नु आजको आवश्यकता हो। यही भावनाका साथ वर्ल्डलिंकले आफूले क्षति व्यहोरेर पनि प्रभावित नागरिकको साथमा उभिँदै मानवता, सेवा र राष्ट्रप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिएको हो ।

वर्ल्डलिंक कम्युनिकेसन्श, नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र होइन, आवश्यक परेको समयमा नेपाली नागरिकसँग उभिने जिम्मेवार नेपाली कम्पनी पनि हो ।

प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com