काठमाडौं। एसीसी पुरुष प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भए पनि उत्कृष्ट नेट रनरेटका आधारमा समूह ‘ए’ को विजेता बनेको छ।
मलेसियाको बायुमास क्रिकेट ओभलमा हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो। नेपालका लागि ईशान पाण्डेले १०६ बलमा ९० रन बनाए। उनले ६ चौका र २ छक्का प्रहार गरे। आसिफ शेखले ४४ रन बनाए।
रोहित पौडेल ३ र देव खनाल ६ रनमै आउट भएपछि दबाबमा परेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ र गुल्शन झाले २० रन बनाए। तर अन्तिम चरणमा लगातार विकेट गुमाउँदा नेपाल लक्ष्यसम्म पुग्न सकेन।
यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो। १३३ रनमा ७ विकेट गुमाएको हङकङलाई बाबर हायात र एहसान खानले आठौँ विकेटका लागि अविजित १२८ रनको साझेदारी गर्दै बलियो योगफलसम्म पुर्याएका थिए। हायातले ११७ रन र एहसानले ३५ रन बनाए।
नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट तथा शेर मल्लले ३ विकेट लिए।
समूह ‘ए’ मा नेपाल र हङकङले समान ६ अंक जोड्दा राम्रो नेट रनरेटका कारण नेपाल शीर्ष स्थानमा रह्यो। अब नेपालले फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता ओमानसँग सेमिफाइनल खेल्नेछ। अर्को सेमिफाइनलमा युएई र हङकङ आमनेसामने हुनेछन्।
प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार












प्रतिक्रिया