काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८२ साल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी, लुटपाट र विध्वंसको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा बुधबार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले आन्दोलनको प्रारम्भिक उद्देश्य र त्यसपछि भएको हिंसात्मक गतिविधिलाई एउटै दृष्टिले हेर्न नहुने बताए। उनले युवाहरूको जायज असन्तुष्टिलाई हिंसा, लुटपाट र विध्वंसमा परिणत गर्ने नियोजित कार्यलाई फरक ढंगले अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन्।

प्रचण्डले भदौ २४ गते सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, आगजनी र विध्वंस भएको उल्लेख गरेका छन्।

‘वस्तुतः प्रतिक्रान्तिकारी विध्वंसले भाद्र २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा एउटा कालो दिनका रूपमा स्थापित गरेको छ,’ वक्तव्यमा भनिएको छ।

भदौ २३ गते नै आन्दोलनले उग्र र हिंसात्मक रूप लिन थालेपछि वास्तविक जेनजी अभियन्ताहरूले ‘घुसपैठ भयो’ र ‘घर फर्कौं’ भनेको दाबी गर्दै प्रचण्डले युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसामा परिणत गर्ने कार्यलाई एउटै विषयका रूपमा हेर्न नहुने बताएका छन्।

उनले जेनजी आन्दोलनका क्रममा भएको घटनाको सत्य स्थापित गर्न स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित छानबिन आवश्यक रहेको बताएका छन्। आन्दोलनमा दमन किन र कसरी भयो, कसले आन्दोलन भड्कायो, हिंसा तथा लुटपाटमा को संलग्न थियो र त्यसबाट लाभ कसले उठायो भन्ने प्रश्नको सत्यतथ्य उजागर हुनुपर्ने उनको भनाइ छ।

‘दोषी जोसुकै होस्, जुनसुकै राजनीतिक पहुँच वा शक्तिमा होस्, कानुनको दायरामा ल्याइनुपर्छ,’ प्रचण्डले भनेका छन्।

प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट, तोडफोड र आगजनी जारी रहनु, संगठित समूहको परिचालन तथा प्रज्वलनशील पदार्थको प्रयोगलगायतका घटनाले थप गम्भीर प्रश्न उठाएको उनले बताएका छन्। त्यसपछि भएका संसद् विघटन, गैरदलीय सरकार गठन, निर्वाचन घोषणा तथा राज्यका विभिन्न निर्णयबारे समेत थप अनुसन्धान आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले पनि जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडमा संलग्न विभिन्न पक्षमाथि अनुसन्धान तथा कारबाहीको आवश्यकता औँल्याएको भन्दै प्रचण्डले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्।

‘आयोगको प्रतिवेदन दराजमा थन्क्याउने विषय होइन, कार्यान्वयन गर्ने दस्तावेज हो,’ उनले भनेका छन्।

प्रचण्डले जेनजी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र समान अवसरका अपेक्षा पूरा हुन नसकेको भन्दै वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। ‘आजको अर्को गम्भीर प्रश्न हो– जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो?’ उनको प्रश्न छ।

महँगी बढेको, अर्थतन्त्र शिथिल भएको, व्यवसायी निराश रहेको, रोजगारीका अवसर पर्याप्त नभएको तथा वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढिरहेको उनले जिकिर गरे। सार्वजनिक ऋण र करको बोझ बढेको तथा विपद्का बेला नागरिकले समयमै उद्धार, राहत र पुनःस्थापना पाउन नसकेको आरोपसमेत उनले लगाएका छन्।

सुकुम्बासी, गरिब तथा उत्पीडित वर्ग र समुदायमाथि निरंकुशताको व्यवहार भइरहेको उनको दाबी छ।

यसैबीच सरकारले संविधान संशोधनका नाममा संविधानका मूलभूत संरचनामै व्यापक फेरबदल गर्ने प्रस्ताव अघि सारेको भन्दै प्रचण्डले आपत्ति जनाएका छन्। संविधान संशोधन समयको आवश्यकता हुन सक्ने भए पनि संविधानको मूल आत्मा र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि समाप्त गर्ने माध्यम बन्न नहुने उनको भनाइ छ।

उनले भने, ‘संविधान संशोधन समयको आवश्यकता हुन सक्छ। तर संविधानको मूल आत्मा र नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि समाप्त गर्ने साधन संविधान संशोधन बन्न सक्दैन।’

संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, मौलिक हक, नागरिक स्वतन्त्रता र जनताको सार्वभौमसत्तालाई नेपाली जनताको संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्दै उनले यी उपलब्धि कमजोर पार्ने प्रयासको प्रतिवाद गर्ने बताएका छन्।

प्रचण्डले युवाको आवाज दबाएर नभई सुनेर र सम्बोधन गरेर मात्र लोकतन्त्र बलियो हुने बताए। लोकतन्त्रका कमजोरीको समाधान लोकतन्त्र समाप्त गर्नु नभई त्यसलाई अझ उत्तरदायी, पारदर्शी, जनमुखी र परिणाममुखी बनाउनु रहेको उनको भनाइ छ।

उनले यसलाई ‘लोकतन्त्रको सर्भिसिङ’ भन्दै आएको उल्लेख गरेका छन्। पार्टीले आफ्ना विगतका अभ्यास र अनुभवबाट शिक्षा लिँदै पार्टी शुद्धीकरण, संगठनात्मक पुनर्निर्माण र राजनीतिक रूपान्तरणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि प्रचण्डले व्यक्त गरे।

साथै, जनताको संघर्षबाट प्राप्त अधिकारको रक्षा गर्दै प्रतिगामी, निरंकुश र जनविरोधी प्रवृत्तिविरुद्ध शान्ति, संविधान र लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, युवा पुस्ता, नागरिक समाज तथा आम नेपाली जनतालाई एकताबद्ध हुन उनले अपिल गरेका छन्।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com