काठमाडौं । हालैको बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएको छ। ग्यास आपूर्तिलाई सहज बनाउन सरकारले तत्काल वैकल्पिक व्यवस्था लागू गर्ने निर्णय गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपत्यकाका उपभोक्तालाई ग्यासको अभाव हुन नदिन सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छन्।
नयाँ व्यवस्थाअनुसार उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास उपलब्ध नभएमा सोही मूल्यमा अर्को कम्पनीको ग्यास सिलिन्डर साटेर ग्यास लिन सक्नेछन्।
बाढीका कारण ढुवानी तथा आपूर्ति प्रणालीमा उत्पन्न अवरोधलाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
यो व्यवस्था हालका लागि काठमाडौं उपत्यकाभित्र मात्र लागू हुनेछ।
मन्त्री यादवले उक्त निर्णयलाई तत्काल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगलाई निर्देशन दिएकी छन्।
उनले विषम परिस्थितिको फाइदा उठाएर उपभोक्तालाई अनावश्यक सास्ती दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारी निर्देशनको अवज्ञा गर्ने व्यक्ति तथा संस्थामाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएकी छन्।
सरकारले ग्यासको आपूर्तिलाई नियमित र सहज बनाउँदै उपभोक्ताले भोगिरहेको समस्या तत्काल समाधान गर्ने तयारी गरेको जनाएको छ।
प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार












प्रतिक्रिया