ललितपुर । जेनजी आन्दोलनका सहिदहरूको अनुहारसँग निर्मित सालिक नमिलेको भन्दै परिवारजनले विरोध जनाएपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्स परिसरमा तय गरिएको सालिक अनावरण कार्यक्रम स्थगित भएको छ।
सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्सभित्र रहेको पार्कमा जेनजी आन्दोलनका ४५ जना सहिदको सम्झनामा सालिक निर्माण गरिएको थियो। तर, सालिकमा बनाइएका आकृति सहिदहरूको वास्तविक अनुहारसँग नमिलेको भन्दै परिवारजनले आपत्ति जनाएका हुन्।
परिवारका सदस्यहरूले सहिदहरूको वास्तविक अनुहारसँग मिल्ने गरी सालिक सच्याउन माग गर्दै त्यसअघि अनावरण गर्न नदिने अडान लिएपछि कार्यक्रम स्थगित गरिएको हो।
सालिक अनावरण कार्यक्रममा सहभागी हुन गृहमन्त्री सुधन गुरुङसमेत पुगेका थिए। तर, परिवारजनको विरोध र असहमति भएपछि उनले सालिक अनावरण नगरी कार्यक्रमस्थलबाट फर्किएका छन्।
परिवारजनले सहिदप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले निर्माण गरिएको सालिक नै वास्तविक व्यक्तिको अनुहारसँग नमिल्दा उनीहरूको पहिचान र सम्मानमाथि प्रश्न उठेको बताएका छन्।
उनीहरूले सालिकको अनुहार सच्याएर सहिदहरूको वास्तविक स्वरूपसँग मिल्दोजुल्दो बनाएपछि मात्रै अनावरण गर्न दिने स्पष्ट अडान राखेका छन्।
परिवारजनको विरोधपछि सालिक अनावरणका लागि तय गरिएको कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ।
तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी


प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार












प्रतिक्रिया