काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको समग्र अवस्थाबारे जानकारी लिन तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहत वितरण, घाइतेको उपचार तथा विपद् व्यवस्थापनका अन्य गतिविधिबारे विस्तृत जानकारी लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूसँग छलफल थालेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलका क्रममा बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेको खोज तथा उद्धार अभियान, जनशक्ति र स्रोत–साधनको परिचालन तथा आगामी कार्ययोजनाबारे प्रधानमन्त्रीले जानकारी लिनेछन्।
प्रधानसेनापतिसँगको छलफलपछि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम रहेको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको कामलाई थप प्रभावकारी बनाउने, राहत वितरणलाई व्यवस्थित गर्ने र प्रभावित नागरिकको उपचार तथा पुनर्स्थापनाका लागि आवश्यक समन्वय गर्ने विषयमा प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखलाई आवश्यक निर्देशन दिने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार












प्रतिक्रिया