काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्दैछ। यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम छ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, अर्थमन्त्री डा वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, बैठकमा कानुन, नयाय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरुको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी, बैठकमा सभामुखले राष्ट्रियसभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०-८१ र २०८१-८२ को वार्षिक प्रतिवेदन पेश गर्नेछन्।

यस्तै, राष्ट्रियसभामा प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। सो प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com