काठमाडौं । राष्ट्रिय सभाकी सदस्य रेणु चन्दले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई जिम्मेवारी पूरा गर्न नसके पदबाट राजीनामा दिन आग्रह गरेकी छन् ।

मन्त्री गौतमले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधित्व नभएका कारण कानुन निर्माणमा असहयोग भएको अभिव्यक्ति दिएको भन्दै चन्दले आपत्ति जनाएकी हुन् ।

राष्ट्रिय सभालाई दोष दिएर आफ्नो कमजोरी ढाक्न खोजिएको र जनतालाई भ्रममा पार्ने काम भएको आरोप लगाउँदै चन्दले मन्त्री गौतमलाई जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै आलोचना गरिन् ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘कुर्सी तपाईंको कुनै जनाजा त होइन । केही गर्न सक्नुहुन्न भने ओर्लिनुस् । हामीमाथि ब्लेम किन लगाउनुहुन्छ ?’

चन्दले सरकारले ल्याएका अध्यादेश तथा विधेयक पारित गर्ने प्रक्रियामा राष्ट्रिय सभा बाधक नभएको स्पष्ट पारिन् । सरकारले आवश्यक ठाने अध्यादेशमार्फत कानुन ल्याउन सक्ने र संसद्मा विधेयक पेस भएपछि संविधान तथा कानुनले तोकेको प्रक्रियाअनुसार अघि बढ्ने उनको भनाइ थियो ।

जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा कानुन निर्माण गर्न राष्ट्रिय सभाले कुनै अवरोध नगरेको दाबी गर्दै उनले प्रश्न गरिन्, ‘जनजीविकासँग जोडिएका विषयमा कानुन बनाउन राष्ट्रिय सभाले रोकेको हो ? जनजी आन्दोलनसँग भएको सम्झौता कार्यान्वयन गर्न कानुन बनाउन राष्ट्रिय सभाले रोकेको हो ? क्षतिपूर्ति दिन राष्ट्रिय सभाले रोकेको हो ?’

राष्ट्रिय सभाले संविधानले दिएको अधिकार र जिम्मेवारीअनुसार विधेयक निर्माणमा भूमिका निर्वाह गर्दै आएको उनले बताइन् । प्रतिनिधिसभाबाट पारित विधेयकको समीक्षा, सुधार र आवश्यक नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी राष्ट्रिय सभाको समेत रहेको उनको भनाइ थियो ।

जनताको हितविपरीत देखिएका प्रावधान भएका विधेयक फिर्ता गर्ने तथा विधेयक निर्माण प्रक्रियामा सूक्ष्म ढंगले समीक्षा गर्ने अभ्यास राष्ट्रिय सभासँग रहेको चन्दले बताइन् ।

उनले भूमि विधेयक राष्ट्रिय सभाबाट फिर्ता भएको तथा संघीय निजामती कर्मचारीसम्बन्धी विधेयकमा समेत राष्ट्रिय सभाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उदाहरण दिइन् । राष्ट्रिय सभाले विधेयक निर्माणमा निर्वाह गर्ने भूमिकाबारे प्रतिवेदनसमेत सार्वजनिक भइसकेको उनले उल्लेख गरिन् ।

‘राष्ट्रिय सभा संविधानबमोजिम काम गर्ने सभा हो । हाम्रो दलको सरकार हुँदा पनि विधेयक फिर्ता पठाएको सभा हो । राष्ट्रिय सभाको अपमान र डिफेम गर्ने काम हामी सहँदैनौँ,’ चन्दले भनिन् ।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com