काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको स्मृति दिवसका क्रममा आफूले दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले आफ्नो अभिव्यक्तिले राष्ट्रिय सभाका सदस्यहरूको भावनामा चोट पुगेको भए त्यसप्रति क्षमाप्रार्थी रहेको बताइन् ।
‘मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु । आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु,’ उनले भनिन् ।
भदौ २३ गते आयोजित जेनजी आन्दोलन स्मृति कार्यक्रममा मन्त्री गौतमले कानुन निर्माणका क्रममा राष्ट्रिय सभाबाट असहयोग भएको आशयको अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय सभाका सदस्यहरूले आपत्ति जनाएका थिए ।
मन्त्री गौतमले भने आफूले बोलेका विषयलाई गलत ढंगले व्याख्या गरिएको दाबी गरिन् । उनले संसद्का दुवै सदनबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आफूले कुनै पनि सदनको अपमान नगरेको स्पष्ट पारिन् ।
‘जेनजी आन्दोलनका क्रममा उठेका कानुन निर्माण र संविधान संशोधनका विषयमा मैले तथ्यभन्दा बाहिर गएर केही बोलेकी छैन । मैले राष्ट्रिय सभाले असहयोग गर्यो भन्ने शब्द कतै पनि प्रयोग गरेकी छैन । माननीयहरूले रेकर्ड हेर्न सक्नुहुन्छ,’ उनले भनिन् ।
कानुन निर्माणको प्रक्रिया प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुने भएकाले दुवै सदनबीच सहकार्य अपरिहार्य रहेको उनले बताइन् ।
‘प्रतिनिधिसभाले दुई तिहाइ मत दिए पनि कानुन निर्माणका लागि दुवै सदनको सहकार्य अनिवार्य छ,’ मन्त्री गौतमले भनिन् ।
आफ्नो अभिव्यक्तिलाई लिएर सञ्चारमाध्यम, राजनीतिक दलका नेता तथा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भएको उल्लेख गर्दै उनले त्यसबाट राष्ट्रिय सभाका सदस्यहरूको भावनामा चोट पुगेको हुनसक्ने भन्दै दुःख व्यक्त गरिन् ।
आफूले नबोलेका विषयको जिम्मेवारी लिन नसक्ने स्पष्ट पार्दै मन्त्री गौतमले आगामी दिनमा संसद्का दुवै सदनबीच सुमधुर सहकार्य गर्दै कानुन निर्माण प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता जनाइन् ।
‘मैले बोकेको हदसम्म म जवाफ दिन तयार छु । हामी मिलेर नै कानुन निर्माणको प्रक्रियालाई गति दिनुपर्छ,’ उनले भनिन् ।
पछिल्लो समय कानुन निर्माणमा ढिलाइ भएको भन्ने गुनासो बढिरहेको भन्दै मन्त्री गौतमले छिटोछरितो कानुन निर्माणका लागि सरकार र संसद्का दुवै सदनबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइन् ।
प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया