काठमाडौं । हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने पोतमाथि इरानले निगरानी र कारबाही बढाएपछि अमेरिका–इरान तनाव थप चर्किएको छ। यसको असर अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत देखिएको छ।

इरानी रिभोलुसनरी गार्ड्सका अनुसार निर्देशन उल्लङ्घन गरेको आरोपमा दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र अन्य १० पोतमाथि कारबाही गरिएको छ। गार्ड्सले पूर्वअनुमतिबिना प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्ने जुनसुकै पोतलाई नियन्त्रणमा लिन सकिने चेतावनी दिएको छ।

इरानले हर्मुज जलघाँटी प्रयोग गर्ने जहाजले अग्रिम अनुमति लिनुका साथै तोकिएको पारवहन शुल्क बुझाउनुपर्ने व्यवस्था लागू गरेको जनाएको छ।

बढ्दो तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ। बुधबार ब्रेन्ट कच्चा तेल १०१.२१ डलरमा कारोबार बन्द भएको थियो। विश्वमा खपत हुने तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौँ हिस्सा हर्मुज जलघाँटी हुँदै ओसारपसार हुने भएकाले आपूर्ति प्रभावित हुने चिन्ता बढेको छ।

इरानले अमेरिकी सेनाले आफ्ना पाँच तेल ट्याङ्कर नष्ट गरेपछि जवाफी कारबाहीस्वरूप जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। जोर्डनले भने आफ्नो भूभागतर्फ प्रहार गरिएका १८ क्षेप्यास्त्र आकाशमै निष्क्रिय पारेको जनाएको छ।

यसैबीच, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको बोर्ड अफ गभर्नर्सले इरानको आणविक कार्यक्रमसम्बन्धी विषय संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा पठाउने प्रस्ताव २३–३ मतले पारित गरेको छ। रुस, चीन र नाइजरले प्रस्तावको विपक्षमा मतदान गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरको मध्यावधि निर्वाचनपछि युद्ध अन्त्य हुने आशा व्यक्त गरे पनि उनका वरिष्ठ सल्लाहकारहरूले द्वन्द्व अझै दुई वर्षसम्म लम्बिन सक्ने चेतावनी दिएको प्रतिवेदन सार्वजनिक भएको छ।

हर्मुज जलघाँटीबाट हुने व्यापारिक तथा अन्तर्राष्ट्रिय जलयातायात प्रभावित हुँदा विश्वव्यापी ऊर्जा आपूर्ति र अर्थतन्त्रमा थप दबाब पर्ने चिन्ता बढेको छ।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com