काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज ६ देखि १० गतेसम्म हुने महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई अमेरिका जाने अनुमति दिएको हो ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भ्रमण स्वीकृत गरिएको जानकारी दिए ।
यसैगरी, भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आईजीएससी) को बैठकमा सहभागी हुन नेपाली वार्ताटोली गठन गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अर्थात् मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।
मिटरब्याजबाट पीडित नागरिकलाई न्याय दिलाउन आवश्यक कानुनी व्यवस्था गर्ने उद्देश्यले विधेयक ल्याउने प्रक्रिया अघि बढाइएको हो ।
भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा सरकारले पाँच जिल्लाका गरिब घरपरिवारको सूचीसमेत स्वीकृत गरेको छ ।
मन्त्री पोखरेलका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहमा रहेका १७ हजार ४३८ गरिब घरपरिवारको सूची मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा शिक्षक सेवा आयोगका रिक्त पदाधिकारी नियुक्त गर्ने निर्णय पनि भएको छ ।
भक्तपुरका डा. हरिप्रसाद लम्साललाई आयोगको अध्यक्ष नियुक्त गरिएको छ । त्यस्तै, मकवानपुरका रामशरण सापकोटालाई सदस्य र काठमाडौंकी विष्णु घिमिरे (रिमाल) लाई महिला सदस्य नियुक्त गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए ।
मन्त्रिपरिषद्ले दुई सहसचिवलाई सचिव पदमा बढुवा गर्दै प्रदेश प्रमुख सचिवको जिम्मेवारी दिएको छ ।
सहसचिव विनोदबहादुर कुँवरलाई सचिवमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । अर्का सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिवमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया