काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले सरकार सल्लाहकारको निर्देशनमा चलिरहेको आरोप लगाउँदै राज्य सञ्चालनमा हुकुमी शैली हाबी भएको टिप्पणी गरेका छन्।
बिहीबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले मन्त्रीस्तरीय सुविधा लिने कुनै पनि सल्लाहकारलाई जासुसी संस्थासँग साँठगाँठ गरेर विदेश जाने छुट नरहेको बताए।
‘कुनै पनि सल्लाहकारलाई जासुसी संस्थासँग सङ्गत गरेर विदेश जान छुट छैन,’ उनले भने, ‘मन्त्रीस्तरको सुविधा खाएपछि औपचारिक रूपमा विमानस्थलबाट जानुपर्छ, लुकेर जाने आवश्यकता थिएन।’
भर्खरै राजीनामा दिएका मन्त्रीलाई पक्राउ गर्नुपर्ने भए प्रहरी पठाएकै दिन पक्राउ गर्नुपर्ने धारणा राख्दै उनले सरकारको कामकारबाही संविधानअनुसार हुनुपर्ने बताए।
सिंहले वर्तमान सरकारले गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको तथा योग्यतालाई पन्छाएर नातावादलाई प्रश्रय दिएको आरोप लगाए। शिक्षा र स्वास्थ्य क्षेत्रसमेत सरकारले कमजोर बनाएको उनको दाबी थियो।
औषधि खरिदमा बिचौलिया हाबी भएको आरोप लगाउँदै उनले शक्तिको केन्द्र बालुवाटारबाट ज्वागलतर्फ सरेको संकेत गरे। ‘क्यामेरा मतिर नतेर्साउनुस्, सात दिन ज्वागलमा राख्नुस्,’ उनले भने, ‘त्यहाँ कसकसको आवतजावत हुन्छ र कसरी पद बाँडिन्छ भन्ने कुरा आफैँ प्रस्ट हुन्छ।’
सरकारले पत्रकार, नेता वा सांसदलाई बोलेका आधारमा धम्क्याउने वा पक्राउ गर्ने अधिकार संविधानले नदिएको उल्लेख गर्दै सिंहले व्यक्तिको सनक र हुकुमी शैलीबाट राज्य सञ्चालन हुन नसक्ने बताए।
देशमा डरको शासन कायम गर्न खोजिए पनि जनता, पत्रकार र सांसदमा डर हट्दै गएकाले यस्तो शासनको अन्त्य निश्चित रहेको उनको दाबी थियो।
प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार











प्रतिक्रिया