काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटबाहिर सडकपेटीमै महिलाले शिशु जन्माएको घटनामा ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको छ।

घटनाबारे छानबिन गर्न नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य सेवा विभागलगायतका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय उच्चस्तरीय टोली राजविराज पुगेको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छुट्टै छानबिन समिति गठन गरेको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घटनाबारे जानकारी दिँदै दोषी ठहरिने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने बताइन्।

अस्पतालको प्रारम्भिक विवरणअनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसव व्यथा लागेपछि ३० वर्षीया बबिताकुमारी पासवान अस्पताल पुगेकी थिइन्। उनलाई प्रसूति वार्डको २४ नम्बर शय्यामा भर्ना गरिएको थियो। आवश्यक परीक्षणका लागि बिरामी र कुरुवा शय्या छाडेर बाहिरिएपछि बिहान ४:४५ बजे अस्पतालको मूल गेटमै उनले शिशु जन्माएको अस्पतालको दाबी छ।

सुत्केरी भएपछि आमा र नवजात शिशुलाई पुनः वार्डमा ल्याएर आवश्यक उपचार गरिएको र थप उपचारका लागि बस्न आग्रह गर्दागर्दै उनीहरू घर फर्किएको अस्पतालले जनाएको छ।

मन्त्री मेहताले मातृ तथा शिशु सुरक्षामा लापर्बाही गर्ने छुट कसैलाई नभएको भन्दै छानबिन प्रतिवेदनका आधारमा दोषीमाथि कडा कारबाही गरिने बताइन्। घटनापछि मन्त्रालयले देशभरका सरकारी अस्पताललाई यस्ता घटना दोहोरिन नदिन आवश्यक व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ।

प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com