काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले आवश्यक तयारी अघि बढाएको बताएका छन्।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले अति उच्च जोखिममा रहेका हिमतालको पानी वैज्ञानिक विधिबाट सुरक्षित रूपमा निकास गरी जोखिम घटाउने विषयमा विज्ञसँग छलफल भइरहेको जानकारी दिए।
“जोखिममा रहेका हिमताल ब्लास्टिङ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको छ। जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नैपर्छ,” उनले भने, “विपद् जोखिमको पूर्वतयारीमा हामी गम्भीर छौँ। तयारी सकिएपछि निर्णय लिन्छौँ।”
कुन–कुन हिमतालमा जलस्तर घटाउने भन्ने टुंगो भने लागिसकेको छैन। विज्ञसँगको परामर्श र अध्ययनपछि जोखिमको मात्रा हेरेर निर्णय गरिने मन्त्री श्रेष्ठले बताए।
उनका अनुसार ग्रिन क्लाइमेट फन्डबाट प्राप्त सहयोग परिचालन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँगको समन्वयमा चालु वर्षमै जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने काम अघि बढाइनेछ।
इसिमोड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडिपी) को संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त छन्। तीमध्ये कोशी र गण्डकी क्षेत्रमा चार वटा हिमताल अति उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमतालको विस्तार र विस्फोटको जोखिम बढ्दै गएपछि सम्भावित जनधन तथा पूर्वाधारको क्षति रोक्न सरकारले जलस्तर घटाउने उपाय अघि सारेको हो।
प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार












प्रतिक्रिया