काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गरेका छन्।
आइतबार पार्टी कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरू लामो समयदेखि संघर्षरत रहेको बताए।
‘मैले देख्दा त अहिलेको सरकार छापा मार सरकार जस्तो देखिन्छ। छापामार एकै लाइनमा होइन है, छापा मार सरकार,’ उनले भने।
ओलीले छापा माध्यमलाई पुरानो वा अप्रासंगिक ठान्न नहुने बताए। छापामा प्रकाशित सामग्री तत्काल मेटाउन नसकिने भएकाले यसको छुट्टै महत्व र विश्वसनीयता रहेको उनको भनाइ थियो।
उनले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको इतिहास लामो संघर्षसँग जोडिएको उल्लेख गर्दै राणा शासनका बेला पत्रकार, लेखक तथा साहित्यकारहरूले ठूलो जोखिम मोलेको स्मरण गरे।
‘कविता लेख्दा मान्छे १८ वर्ष जेल थुनिन्थ्यो, शास्त्रका कुरा वाचन गर्दा फाँसी खानुपर्थ्यो। त्यो समयबाट हामी अगाडि बढेका हौँ,’ ओलीले भने।
स्वतन्त्रताविरोधी तथा प्रतिगामी कदम लामो समय टिक्न नसक्ने दाबी गर्दै ओलीले सञ्चार क्षेत्रका प्रतिनिधिहरूलाई आफ्नो आवाज निरन्तर उठाउन आग्रह गरे।
उनले सञ्चार क्षेत्रको स्वतन्त्रताको सवाल एमालेका लागि पनि महत्वपूर्ण रहेको भन्दै पत्रकार तथा सञ्चारकर्मीको आन्दोलनमा पार्टीको पूर्ण समर्थन रहने बताए।
ओलीले स्वतन्त्रताको संघर्षका क्रममा आफूहरूले जेल, कुटपिट र यातनासमेत भोगेको उल्लेख गर्दै सत्यको पक्षमा दृढ भएर अघि बढ्दा अन्ततः सफलता प्राप्त हुने दाबी गरे।
प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार












प्रतिक्रिया