काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको कारण र घटनाक्रम पत्ता लगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्चस्तरीय वैज्ञानिक अध्ययन गर्ने भएको छ।
मन्त्रालयले हिमाली क्षेत्रमा बाढी निम्तिनुका भौगोलिक, हिमनदीजन्य र जलविज्ञानसम्बन्धी कारणसँगै जलवायु परिवर्तनको प्रभावसमेत अध्ययन गर्न विज्ञ सम्मिलित समिति गठन गर्ने जनाएको छ। समितिले सोमबारदेखि काम थाल्ने मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताए।
जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्तावअनुसार बाढीलाई सामान्य अतिवृष्टिको परिणामका रूपमा मात्र नभई हिमाली क्षेत्रमा उत्पन्न विभिन्न जोखिम क्रमशः जोडिँदै गएको ‘श्रृङ्खलाबद्ध विपद्’ का रूपमा विश्लेषण गरिनेछ।
अध्ययनमा हिमनदी विज्ञान, भूगर्भशास्त्र, पहिरो, जलविज्ञान, मौसम तथा जलवायु विज्ञान, दूरसंवेदी प्रविधि र विपद् जोखिम व्यवस्थापनका विज्ञ सहभागी हुनेछन्। आवश्यकताअनुसार अन्तर्राष्ट्रिय विज्ञलाई समेत समेटिने मन्त्रालयले जनाएको छ।
अध्ययनका क्रममा बाढीको सम्भावित उद्गमस्थलदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली र प्रभावित तटीय क्षेत्रसम्मको भौगोलिक अवस्था तथा क्षतिको अध्ययन गरिनेछ। त्यसपछि बाढी उत्पन्न हुनुका तत्कालीन र भौतिक कारण पहिचान गर्दै जलवायु परिवर्तनले जोखिमको सम्भावना र तीव्रतामा पारेको प्रभावसमेत मूल्याङ्कन गरिनेछ।
सीमापार क्षेत्रमा फैलिएको नदी प्रणाली भएकाले चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक तथ्यांकसमेत अध्ययनमा समेटिनेछ। आवश्यकताअनुसार स्थलगत निरीक्षणसँगै तस्वीर, भिडियो, ड्रोन र भूउपग्रहबाट प्राप्त विवरण प्रयोग गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले वैज्ञानिक समितिलाई दुई महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउने गरी तयारी गरेको छ। अध्ययनबाट बाढीको उत्पत्ति, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित प्रभावबारे प्रमाणमा आधारित निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ।
प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार












प्रतिक्रिया