काठमाडौं । बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनसहित युरोपेली सुरक्षा अधिकारीहरूको टोली रेलमार्ग पार गरेको केही समयमै पोल्याण्ड सीमासँगै पश्चिमी युक्रेनमा अर्को यात्रुवाहक रेलमाथि रुसी ड्रोन हमला भएको छ।
युक्रेनी अधिकारीहरूका अनुसार याहोदिन क्षेत्रमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि मानवीय क्षति भएको छैन। आक्रमणस्थल पोल्याण्डको सीमाबाट करिब दुई किलोमिटर टाढा रहेको बताइएको छ।
बोरिस जोन्सन र विभिन्न युरोपेली मुलुकका सुरक्षा अधिकारीहरू यही रेलमार्ग हुँदै किभमा आयोजित सम्मेलनबाट फर्किएका थिए। बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल पनि टोलीमा रहेका थिए।
युक्रेनी सरकारी रेलवे कम्पनीले कूटनीतिज्ञहरू सवार रेल नै सम्भावित निशाना हुन सक्ने आशङ्का गरेको छ। सुरक्षा जोखिमका कारण समयतालिका परिवर्तन गरिएकाले उक्त टोली सवार रेल निर्धारित समयभन्दा अगावै स्टेसनबाट निस्किएको कम्पनीले जनाएको छ।
त्यसपछि आएको ड्रोन आक्रमण अर्को यात्रुवाहक रेलमा परेको थियो। रेलवे कम्पनीका अनुसार यात्रुहरूलाई आक्रमण हुनुभन्दा करिब १५ मिनेटअघि रेलबाट बाहिर निस्कन निर्देशन दिइएकाले ठूलो मानवीय क्षति टरेको हो।
रुसले भने पश्चिमी युक्रेनको रेलवेसम्बन्धी पूर्वाधारलाई निशाना बनाएर आक्रमण गरेको पुष्टि गरेको छ। तर युक्रेनी पक्षले उच्चस्तरीय विदेशी अधिकारीहरू सवार रेललाई लक्ष्य बनाइएको हुन सक्ने सम्भावनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार












प्रतिक्रिया