काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले विपद्का बेला उद्धारमा खटिएका आफूहरूमाथि गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन्।

स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आफूविरुद्ध प्रकाशित समाचार तथा रिपोर्टप्रति असन्तुष्टि जनाउँदै ढकालले इन्टरनेटमा उपलब्ध सामग्रीलाई तोडमोड गरेर नकारात्मक प्रचार गरिएको आरोप लगाए।

‘पहिले स्वदेशीहरूले सकेसम्म खुट्टा ताने, अहिले भने विदेशी मिडिया नै लागेका छन्। देश विपत्तिमै भएका बेला इन्टरनेटमा भएका रिपोर्टहरूलाई तोडमोड गरी गलत भाष्य निर्माण गर्न खोज्नु उपयुक्त समय होइन,’ उनले भने।

आफूमाथि उठाइएका प्रश्नको जवाफ दिन आफू तयार रहेको उल्लेख गर्दै ढकालले आफूले अफ्रिकादेखि युरोप र एसियाका विभिन्न देशमा गरेको कामको विवरण र प्रतिवेदनसमेत सार्वजनिक गर्न सक्ने बताए।

‘अफ्रिकादेखि युरोप र एसियाका प्रत्येक देशमा काम गरेको रिपोर्ट नै बुझाउन तयार छु,’ उनले भने।

उनको भनाइ जस्ताको त्यस्तै,

रातभरि काम, विदेशी मिडियामा आएका कुराको खण्डन

रातभरि नसुतीकन खोला किनारमा जीवन उद्धारको काम गरेका छौँ। सुत्ने बढीमा २–४ घण्टा हो, १८+ दिन भयो, शरीरमा घाउ र बिबिरा आएका छन्, खुट्टा लेदोले खाएर घाउ भएको छ। सुत्न सकेका छैनौँ, फिल्ड छोड्न नै सकेका छैनौँ। राति अलिकति केही कुरा बिग्रियो भने मनमा पाप नै गरियो कि जस्तो हुन्छ। भित्र जीवित ६ जना भगवान् हुनुहुन्छ, सकेको धर्म गर्ने हो भनेर लागेको छु।

विडम्बना, यसरी काम गर्दा पहिले स्वदेशीहरूले सकेसम्म खुट्टा ताने, अहिले भने विदेशी मिडिया नै लागेका छन्। देश विपत् मै भएका बेला इन्टरनेट मै भएका रिपोर्टहरू लाई तोडमोड गरी गलत भाष्य निर्माण गर्न खोज्नु यो उपयुक्त समय होइन। यसको जवाफ म कता आएर दिनु पर्ने हो म तयार छु।

मलाई किन अमेरिकाको मात्र भन्छौ? सकिन्छ भने चिनियाँ एजेन्ट पनि भन, चीनको मन्त्रालय अन्तर्गत बसेर काम गरेको छु, चिनिया रिपोर्ट अनलाइनमै छ। किर्गिस्तानमा काम गरेको छु, रसियन एजेन्ट भन। भारतमा ६ महिना योग–ध्यान सिकेको छु, भारतले नेपालभरि बाट २५ जना इन्जिनियर लाई दिने अवार्ड पनि दिएको छ, भारतीय एजेन्ट भन। के–के प्रमाण चाहिने हो, अफ्रिकादेखि युरोप र एसियाका प्रत्येक देशमा काम गरेको रिपोर्ट नै बुझाउन तयार छु।

तर यसरी जोखिम मोलेर टेन्ट र फिल्डमा खोला किनारमा पानीमा भिज्दै विशुद्ध मानव धर्म पालन गर्दा विदेशी मिडियालाई मानवता देखाउन अनुरोध गर्दछु। खुट्टै तान्नु परे पनि यो उद्धार सकेपछि तान्न विदेशी र स्वदेशी मिडियालाई हार्दिक अनुरोध गर्दछु।

यस्तो दैवी विपत्ति पर्दा झन् दुःख दिनुभन्दा सकिन्छ भने सहयोग गरिदिनुस्, सक्दै सक्नुहुन्न भने पनि नकारात्मकता नफैलाइदिनुहुन अनुरोध गर्दछु। हाम्रो सम्पूर्ण समय नकारात्मकतासँग होइन दैवी प्रकोप सँग लड्न चाहन्छौँ। सहयोग गरिदिनु होला।

म हरेक कुरामा सकारात्मकता खोज्छु, मेरो प्रतिस्पर्धी कसैलाई १ शब्द गाली गर्दिन चाहे त्यो प्रदीप ज्ञवाली हुन् चाहे चन्द्र भण्डारी। मेरो प्रतिस्पर्धी शेरबहादुरलाई शुद्ध उहाँकै गाउँमा उहाँकै समर्थकहरूका बिचमा लाइनमा बसेर मालाले स्वागत गर्ने मान्छे हुँ।

नकारात्मकता र गाली एक छिन हिट होला तर दीर्घकालीन शान्ति र विकासको लागि सकारात्मक नै अचुक अस्त्र हो भन्नेमा म दृढ विश्वास गर्छु। जीवनभरि सात्त्विक जीवन शैली अपनाएको छु, सात्त्विक नै सोच्छु। सकारात्मकता सोच्छु र त्यही नै फैल्याइदिन अनुरोध गर्दछु।

सम्भवतः हामीले जीवित उद्धार गर्न सक्यौँ भने विश्वलाई नै झकझक्याउने काम हुनेछ। योभन्दा ठूलो धर्म जीवनमा अरू केही पनि हुँदैन भनेर काम गरेका छौँ। ६ जनालाई जीवित उद्धार गर्न व्यग्र प्रतीक्षामा छौँ, प्रार्थना गरिरहेका छौँ।

हजुरहरूको भरपुर सहयोगको अपेक्षा गरेका छौँ। अरूले जे जे भनेपनि भगवान्रुपी जनताले निष्पक्ष न्याय गर्नेछन् भन्नेमा म ढुक्क भएर काम गर्दै छु।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This