काठमाडौं । यमनका हुथी विद्रोहीले साउदी अरबको दक्षिणी क्षेत्रमा क्षेप्यास्त्र आक्रमणको नयाँ लहर चलाएको इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीले दाबी गरेको छ।
आक्रमणपछि दक्षिणी क्षेत्रमा शक्तिशाली विस्फोट भएको र साउदी सुरक्षाकर्मीले सीमावर्ती सहरका बासिन्दालाई सुरक्षा सतर्कता अपनाउन चेतावनी दिएका छन्। अल जजिराका अनुसार दक्षिणपश्चिमी क्षेत्रका खामिस मुशैत र आभाका बासिन्दालाई एक घण्टाभित्रै दोस्रोपटक सुरक्षा चेतावनी जारी गरिएको थियो।
यमनको सीमासँग नजिक रहेका यी सहरमा हुथी आक्रमणको जोखिम बढेको बताइएको छ। हुथी सैन्य प्रवक्ता याह्या सारीले आइतबार साउदी अरबको शारुराहस्थित सैन्य अड्डाको हतियार भण्डार तथा कमान्ड र नियन्त्रण केन्द्रलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्।
अल जजिराका अनुसार साउदी सीमामा भएका हुथी आक्रमणमा दुई जना घाइते भएका छन्।
यसैबीच, यमनको पश्चिमी तटका अस्पतालहरू निरन्तरको हिंसा र स्वास्थ्य प्रणालीमा आएको अवरोधका कारण प्रभावित भएका छन्। ‘डक्टर्स विदाउट बोर्डर्स’ का यमन निर्देशक लु कोर्म्याकका अनुसार केही अस्पताल पुनः सञ्चालनमा आए पनि स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिको अभाव गम्भीर छ। पर्याप्त उपचार सुविधा नहुँदा सर्वसाधारणको ज्यान जोखिममा पर्न सक्ने उनले चेतावनी दिएका छन्।
हुथीले लाल सागर र बाब अल–मन्देब जलडमरूमध्यमा साउदी अरबको तेल निर्यातसँग सम्बन्धित जहाजलाई समेत लक्षित गर्दै आएको अल जजिराले जनाएको छ।
सीबीएस न्युजका अनुसार साउदी युवराज मोहम्मद बिन सलमानले हुथीविरुद्ध सैन्य कारबाही गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आग्रह गरेका थिए। तर ट्रम्पले उक्त आग्रह अस्वीकार गरेको बताइएको छ।
यसैबीच, नयाँदिल्लीमा जारी ब्रिक्स सम्मेलनको घोषणापत्रमा साउदी अरब, इरान र संयुक्त अरब इमिरेट्ससहित सदस्य राष्ट्रहरूले पश्चिम एसियामा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै संयम अपनाउन आह्वान गरेका छन्।
घोषणापत्रमा नागरिक तथा नागरिक पूर्वाधारको सुरक्षा, राष्ट्रको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान तथा स्थायी शान्तिका लागि संवाद र कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार












प्रतिक्रिया