काठमाडौं । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी पुनर्निर्माण तीव्र पारेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिइएको बताए। यी काम सकिएपछि स्थायी सडक तथा पुल निर्माण अघि बढाइने उनको भनाइ छ।
मन्त्री लम्सालका अनुसार सडक तथा पुल निर्माणलाई तीव्रता दिन आठ वटा विषयगत कार्यदल गठन गरिएको छ। निर्माणमा दोहोरोपना नहोस् भनेर प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई मन्त्रालयअन्तर्गतका निकायसँग प्रत्यक्ष समन्वय गरी क्षतिग्रस्त पूर्वाधारको विवरण, योजना तथा निर्माणको अनुगमनमा सहयोग गर्न उनले आग्रह गरे।
सरकारले प्रभावित क्षेत्रमा खानेपानी प्रणाली आगामी मङ्सिरसम्म पुनःस्थापना गर्ने लक्ष्य राखेको छ। स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधार पुनर्निर्माणको काम पनि अघि बढाइएको मन्त्री लम्सालले बताए।
छलफलमा सूचना तथा सञ्चारमन्त्री एवं नुवाकोटका प्रतिनिधिसभा सदस्य विक्रम तिमिल्सिनाले गैरसरकारी संस्थाले प्रभावित क्षेत्रमा घर निर्माण तथा ज्येष्ठ नागरिक र बालबालिकाको संरक्षणका नाममा काम गर्दा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्नुपर्ने बताए।
उनले प्रभावित क्षेत्रका कुनै पनि पीडित नछुट्ने गरी तथ्याङ्क संकलन गरेर सरकारलाई समयमै उपलब्ध गराउन स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे।
प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार












प्रतिक्रिया