काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाह समारोहका केही खर्च रुसका व्यापारी उमर क्रेमलेभले व्यहोरेको पुष्टि भएको छ।
ट्रम्प जुनियर र उनकी पत्नी बेटिनाले बहामासस्थित निजी द्वीपमा आयोजित विवाह समारोहको दुई रातको आतिथ्य क्रेमलेभले गरेको बताएका छन्। उनीहरूले क्रेमलेभलाई नजिकको साथी भन्दै यसलाई विवाहको उपहारका रूपमा स्वीकार गरेको जनाएका छन्।
‘प्रो पब्लिका’को खोजमूलक प्रतिवेदनअनुसार समारोहमा क्रेमलेभले लाखौँ डलर खर्च गरेका थिए। त्यसमा करिब १ लाख डलरको एक रातको द्वीप भाडा र करिब ७० हजार डलरको आतसबाजी प्रदर्शनसमेत रहेको बताइएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट सम्बन्ध रहेको बताइएका क्रेमलेभ अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष हुन्। घटनापछि अमेरिकी नैतिकता निगरानी गर्ने संस्थाहरूले ट्रम्प परिवारमाथि विदेशी प्रभाव र स्वार्थको द्वन्द्वबारे प्रश्न उठाएका छन्।
प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार












प्रतिक्रिया