काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या, क्षति र जोखिमबारे विश्व समुदायको ध्यानाकर्षण गराउने बताएका छन् ।

मुस्ताङको जोमसोममा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’का लागि शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका लागि विश्वव्यापी सहयोग र सहकार्य आवश्यक रहेको बताएका हुन् ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, क्षति तथा समाधानका उपायबारे विश्व समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले हिमाली, पहाडी र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने पनि बताएका छन् ।

तापक्रम वृद्धिका कारण हिमाल पग्लिने, हिमचट्टान टुक्रिने, हिमपहिरो जाने, हिमनदीको बहाव बढ्ने, पानीका मुहान सुक्दै जाने तथा मौसममा अप्रत्याशित परिवर्तन हुनेजस्ता समस्या बढिरहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

यस्ता परिवर्तनले हिमाली क्षेत्र मात्रै नभई समग्र नेपालको जनजीवन, कृषि तथा जैविक विविधतामा समेत गम्भीर असर पार्न थालेको उनले बताएका छन् ।

जलवायु परिवर्तनका असर सामना गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको प्रधानमन्त्री शाहले बताएका छन् ।

स्थानीय घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुईदिने सम्मेलनको मंगलबार कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी छन् । सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ ।

यसैबीच, हिमपहिरोपछि भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट ठूलो जनधन तथा भौतिक सम्पत्तिको क्षति भएको अवस्थामा आयोजित जलवायु सम्मेलनलाई महत्वका साथ हेरिएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रमको तयारी भइरहेका बेला सम्मेलन आयोजना भएको हो ।

प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com