काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको आन्तरिक विवाद र असमझदारी अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।

देउवाले मंगलबार ७ बुँदे अपिल जारी गर्दै पछिल्लो समय पार्टीभित्र उत्पन्न विवादप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।

उनले पार्टीको विधि, विधान, पद्धति र परम्पराविपरीत केन्द्रीय समितिको निर्णयलाई बेवास्ता गर्दै संस्थापन पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएको आरोप लगाएका छन् ।

विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अदालतबाट अन्तिम निर्णय नआउँदै त्यसको प्रक्रिया अघि बढाउनु राजनीतिक, नैतिक, कानुनी तथा संवैधानिक दृष्टिले उपयुक्त नहुने देउवाको जिकिर छ ।

देशभरका महाधिवेशन प्रतिनिधिबाट विधिवत् निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको उनले बताएका छन् ।

आफूलाई कुनै पद वा जिम्मेवारीप्रति लोभ नभएको स्पष्ट पार्दै देउवाले पार्टीको संस्थागत प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

उनले पछिल्लो ३५ वर्षमा मुलुकले हासिल गरेको विकास, राजनीतिक परिवर्तन तथा उपलब्धिको वस्तुगत समीक्षा गर्नुपर्ने बताएका छन् । प्राप्त उपलब्धिमा मात्रै सन्तुष्ट भएर बस्ने अवस्था नरहेको भन्दै जनताको अपेक्षा पूरा गर्न, सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न तथा आर्थिक समृद्धि हासिल गर्न अझ धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।

देउवाले कांग्रेसभित्रको वर्तमान मतभेद अन्त्य गर्दै एकता, सहमति र सहकार्यका आधारमा आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

संस्थापन पक्षले भने असोजमै विशेष महाधिवेशन गर्ने प्रक्रिया अघि बढाएको छ । यही विषयलाई लिएर कांग्रेसभित्र विवाद चर्किएको हो ।

भोटेकोशी बाढीबाट उत्पन्न विपत्तिको प्रसंगसमेत उल्लेख गर्दै देउवाले संकटका बेला राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सबै सरोकारवाला एकजुट भएर विपद् व्यवस्थापनमा लाग्नुपर्ने बताएका छन् ।

उनले मुलुकका सामु रहेका चुनौती सामना गर्न राजनीतिक दलहरूबीच सहकार्य र एकता आवश्यक रहेकोसमेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com