काठमाडौं । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। सोहो घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
कबिलासी नगरपालिका-७ सिर्सियास्थित मलंगवा-नवलपुर सडकखण्डमा मधेस प्रदेश०३-०३३प ७८२४ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको बिआर३०एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल मंगलबार साँझ ठोक्किएको थियो।
दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक सर्लाहीको गोडैता नगरपालिका-६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरका मोटरसाइकल चालक सर्लाहीको कबिलासी-८ का २६ वर्षका पप्पु पासवानको मृत्यु भएको हो।
दुर्घटनापछि गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
यसैबीच सोही घटनामा परेर गम्भीर घाइते १२२४ नम्बरको मोटरसाइकलमा सवार सर्लाहीको कबिलासी नगरपालिका-८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलंगवा नगरपालिका-६ का १८ वर्षीय बब्लुकुमार पासवानको अनुहार, टाउको र खुट्टामा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर पठाइएको छ।
तीव्र गतिका कारण दुवै मोटरसाइकल आपसमा ठोक्किएको पाइएको छ। प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। रासस
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार












प्रतिक्रिया