काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू नेकपा एमालेको पुनर्गठन तथा सशक्त पार्टी निर्माणको पक्षमा रहेको भन्दै नेतृत्वदायी व्यक्तिहरूलाई निषेध नगरी अगाडि बढ्न आग्रह गरेकी छन् ।
मंगलबार दिउँसो बालुवाटारस्थित बासस्थानमा महासचिव शंकर पोखरेलसँगको भेटमा उनले त्यसो भनेकी हुन् । भण्डारीको सचिवालयका एक सदस्यका अनुसार काभ्रेको बल्थलीमा आयोजित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक चल्दै गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटका विषयमा एकतर्फी प्रचार गरिएपछि आफ्नो कुरा स्पष्ट पार्न उनले महासचिव पोखरेललाई बासस्थानमा बोलाएकी हुन् । विहान ११ बजे आफैँ पार्टी कार्यालय आउने भनेकी भण्डारीले पछि पोखरेललाई नै आफूकहाँ बोलाएकी थिइन् ।
भण्डारीले पार्टी र आन्दोलनको रक्षाका पक्षमा आफू दृढताका साथ उभिएको स्पष्ट पारिन् । तर, पार्टी र आन्दोलन जोगाउने नाममा निश्चित व्यक्तिहरुलाई निषेध, तेजोबध तथा मानमर्दनको शृङ्खला जायज नभएको उनले बताइन् ।
बल्थलीमा कार्यदल बैठक चलिरहेको बेला अध्यक्ष ओलीसँग भेट हुनुलाई संयोगमात्र भन्दै भण्डारीले कुनै प्रकारको सम्झौता वा शर्तमा कुरा नभएको पोखरेललाई सुनाइन् । ‘आजको मुख्य आवश्यकता एउटा सुदृढ पार्टीलाई बचाउने, कम्युनिष्ट आन्दोलन जोगाउने र जनतामा छाएको निराशालाई चिर्ने हो,’ भण्डारीले पोखरेललाई भनिन्, ‘त्यसो गर्नका लागि विधिसम्मत पहल गर्नुस्, व्यक्तिका विषयमा धेरै टिप्पणी नगरौँ, म तपाईंहरूको साथमा छु ।’
बल्थलीमा कार्यदल बैठक चलेको बेला अध्यक्ष ओलीसँग भेट भएर दुई प्रतिवेदनलाई एकरुपता दिनका निम्ति आफूले दबाब नदिएको र भ्रममा नपर्न पनि उनले पोखरेललाई बताइन् । ‘पार्टीका तल्लो तहदेखि उपल्लो तहसम्मका साथीहरूले जेजस्तो सुझाव दिनुभएको छ, म त्यही पक्षमा हो,’ भण्डारीले पोखरेललाई भनिन् ।
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार












प्रतिक्रिया