काठमाडौं । सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा पुनः आगलागी भएको छ। आज भएको आगलागीबाट भवनभित्र रहेका कम्तीमा तीन वटा फाँटमा क्षति पुगेको छ।
आगलागीको खबर पाउनासाथ प्रहरी तथा दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार आगलागी बिजुली सर्ट (सर्ट सर्किट) का कारण भएको प्रहरीको अनुमान छ।
सर्वोच्च अदालतको नयाँ भवनमा छोटो समयमै आगलागी भएको यो दोस्रो घटना हो। यसअघि भदौ १७ गते राति पनि सोही भवनको अभिलेख शाखामा आगलागी भएको थियो।
उक्त समयमा ‘प्रयोगविहीन अवस्थामा राखिएका पुराना कागजातहरू जलेको’ अदालत प्रशासनले जनाएको थियो। तर, भदौ १७ को घटनाको छानबिन प्रक्रिया जारी रहँदै गर्दा पुनः दोहोरिएको आगलागीले सुरक्षा व्यवस्था र विद्युतीय संरचनाको गुणस्तरमाथि गम्भीर प्रश्न खडा गरेको छ।
अघिल्लो वर्ष भदौ २४ गते देशव्यापी रूपमा भएको ‘जेन जी’ आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि सर्वोच्च अदालतको मुख्य भवनमा क्षति पुगेको थियो। त्यसयता अदालतले आफ्ना दैनिक प्रशासनिक तथा न्यायिक कामकारबाहीहरू ‘एनेक्स’ (संलग्न) भवनबाट सञ्चालन गर्दै आएको छ।
अदालतका कार्यहरूलाई सहज बनाउनका लागि निर्माणाधीन नयाँ भवनको एउटा भागलाई अस्थायी रूपमा प्रयोगमा ल्याइँदै इजलास र प्रशासनिक फाँटहरू त्यहाँ सारिएको थियो।
एकातिर पुरानो भौतिक क्षतिपछि अस्थायी रूपमा सेवा प्रवाह भइरहेको र अर्कातिर नयाँ भवनमा लगातार हुने गरेका यस्ता आगलागीका घटनाले अदालतका महत्त्वपूर्ण अभिलेख र भौतिक संरचनाको सुरक्षामा थप चुनौती थपेको छ।
प्रहरीले घटनाको विस्तृत कारण पत्ता लगाउन र क्षतिको पूर्ण विवरण संकलन गर्न अनुसन्धान अगाडि बढाएको छ। लगातार भइरहेका आगलागीका घटना पछाडि केवल प्राविधिक कमजोरी मात्रै हो वा अन्य कुनै कारण छ भन्नेबारे पनि छानबिन हुनुपर्ने माग उठेको छ।
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार












प्रतिक्रिया