काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडकखण्डमा ट्रक र यात्रुवाहक हायस माइक्रोबस आपसमा ठोक्किँदा चालक तथा सहचालकसहित १७ जना घाइते भएका छन्।

बुधबार बिहान करिब १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको हायस आपसमा ठोक्किएका हुन्।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको प्रहरीले जनाएको छ।

जिल्ला अस्पतालमा उपचाररत घाइतेमध्ये आठ जनालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल उदयपुरमै उपचार भइरहेको छ।

दुर्घटनामा घाइते हुनेहरूमा काठमाडौं चन्द्रागिरी–१४ की ५६ वर्षीया इन्दिरा श्रेष्ठ, मोरङ सुन्दरहरैँचा–७ की २७ वर्षीया पवित्रा भट्टराई, चन्द्रागिरी–१४ की ४८ वर्षीया रुकमाया श्रेष्ठ र सोही स्थानकी ५३ वर्षीया पविना श्रेष्ठ रहेका छन्।

त्यस्तै, मोरङ कानेपोखरी–६ रमाइलोका २४ वर्षीय लबिन चौलागाईं, सोही स्थानका हायस सहचालक ४० वर्षीय देवराज विक र चालक ४४ वर्षीय रामबहादुर विक पनि घाइते भएका छन्।

घाइते हुने अन्यमा बाँकेको नेपालगञ्ज–३ की २१ वर्षीया लक्ष्मी गिरी, उदयपुर त्रियुगा–३ मिलनचोककी ४२ वर्षीया रस्मिला दाहाल, मोरङ सुन्दरहरैँचा–६ की ७९ वर्षीया जमुना राई र सोही स्थानका ४१ वर्षीय एदुचन्द्र राई छन्।

यसैगरी इलाम जोगमाई–१ का २५ वर्षीय सगुन गुरुङ, उदयपुर बेलका–६ का ३१ वर्षीय डम्बरबहादुर विक र २० वर्षीय सुदिप राई, सिन्धुली कमलामाई–१ की ४० वर्षीया सानु थापा तथा काठमाडौं बुढानीलकण्ठ–५ की ४३ वर्षीया शान्ति न्यारिका घाइते भएका छन्।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com