एजेन्सी । अरब सागरमा भारतीय र पाकिस्तानी नौसैनिक जहाज आपसमा ठोक्किएपछि भारतले पाकिस्तानसँग औपचारिक विरोध जनाएको छ।
भारतीय विदेश मन्त्रालयले बुधबार नयाँदिल्लीस्थित पाकिस्तानी उच्चायोगका ‘चार्ज डी अफेयर्स’लाई बोलाएर पाकिस्तानी नौसैनिक एकाइको गतिविधिलाई ‘अस्वीकार्य र गैरव्यावसायिक’ भन्दै कडा विरोध जनाएको हो।
भारतीय विदेश मन्त्रालयका अनुसार घटना सेप्टेम्बर १५ को साँझ उत्तरी अरब सागरको अन्तर्राष्ट्रिय जलक्षेत्रमा भएको थियो। नियमित निगरानी अभियानमा रहेको भारतीय नौसेनाको अग्रपंक्तिको युद्धपोतनजिक पाकिस्तानी नौसैनिक जहाज तीव्र गतिमा पुगेपछि असुरक्षित ढंगले दिशा परिवर्तन गर्दा दुई जहाजबीच ठक्कर भएको भारतीय पक्षको दाबी छ।
घटनाबाट ठूलो क्षति भने नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयले पाकिस्तानी नौसैनिक जहाजको गतिविधि सन् १९९१ मा भारत र पाकिस्तानबीच भएको सैन्य अभ्यास, सैन्य चालचलन तथा सैनिक आवागमनबारे अग्रिम सूचना दिने सम्झौताको धारा १० को प्रत्यक्ष उल्लंघन भएको जनाएको छ।
भारतले पाकिस्तानी ‘चार्ज डी अफेयर्स’मार्फत सम्बन्धित अधिकारीलाई समुद्रमा तैनाथ सबै सैन्य एकाइले आवश्यक सावधानी अपनाउन तथा दुई देशबीच भएका सम्बन्धित सम्झौताको पालना गर्न आग्रह गरेको छ। यस्ता घटना दोहोरिन नदिन सैन्य गतिविधिमा थप सतर्कता अपनाउन पनि भारतले जोड दिएको छ।
त्यस्तै, इस्लामाबादस्थित भारतीय ‘चार्ज डी अफेयर्स’लाई पाकिस्तानको विदेश मन्त्रालयसमक्ष यस्तै औपचारिक विरोध दर्ता गराउन निर्देशन दिइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
भारतीय विदेश मन्त्रालयका अनुसार दुवै देशका नौसैनिक जहाजबीच भएको उक्त घटना अन्तर्राष्ट्रिय जलक्षेत्रमा भएको हो। हालसम्म संलग्न जहाजको नाम सार्वजनिक गरिएको छैन।
भारत र पाकिस्तानबीच समुद्री सैन्य गतिविधिसम्बन्धी विवाद यसअघि पनि देखिएको थियो। सन् २०११ मा भारतीय नौसैनिक जहाज आईएनएस गोदावरी र पाकिस्तानी जहाज पीएनएस बाबरबीच भएको घटनामा पनि भारतले पाकिस्तानी जहाजको गतिविधिविरुद्ध औपचारिक विरोध जनाएको थियो।
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार












प्रतिक्रिया