काठमाडौं । अमेरिकी प्रतिनिधि सभाले रुसबाट तेल तथा ग्यास खरिद गर्ने प्रमुख देशमाथि १०० प्रतिशतसम्म अतिरिक्त कर लगाउन सक्ने व्यवस्था भएको विधेयक पारित गरेको छ।
प्रतिनिधि सभाले ‘लिन्डसे ग्राहम स्याङ्क्सनिङ रसिया एन्ड इरान एक्ट अफ २०२६’ नामको विधेयक २६२–१५९ मतले पारित गरेको हो। यसअघि नै सिनेटबाट पनि भारी बहुमतले पारित भइसकेको विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष हस्ताक्षरका लागि पठाइनेछ।
विधेयकले रुसबाट कच्चा तेल वा प्राकृतिक ग्यास खरिद जारी राख्ने प्रमुख पाँच देशमाथि १०० प्रतिशतसम्म कर लगाउने अधिकार राष्ट्रपतिलाई दिनेछ। सम्भावित दायरामा चीन, भारतसहित स्लोभाकिया, हङ्गेरी र अजरबैजान पर्न सक्ने उल्लेख छ। यद्यपि, कर लगाउनु राष्ट्रपतिका लागि अनिवार्य भने गरिएको छैन।
भारत र अमेरिका प्रारम्भिक व्यापार सम्झौताका लागि वार्तामा रहेका बेला आएको यो विधेयकले भारतमाथि थप दबाब सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ। भारतले पछिल्लो समय रुसबाट ठूलो परिमाणमा कच्चा तेल आयात गर्दै आएको छ।
विधेयकका समर्थकहरूले रुसमाथि दबाब बढाउनुपर्ने बताएका छन् भने विरोधी सांसदहरूले राष्ट्रपतिलाई अत्यधिक अधिकार दिइएको र यसको भार अमेरिकी उपभोक्तामाथि पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया