जेनेभा । विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको भन्दै संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण कतै अत्यधिक पानी र कतै गम्भीर अभावको अवस्था देखिन थालेको उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार सन् २०२५ विश्वका नदीका लागि पछिल्लो तीन दशकभन्दा बढी अवधिमध्येकै सबैभन्दा सुक्खा वर्षमध्ये एक रह्यो । गत वर्ष विश्वभर हिमनदी खुम्चिनुका साथै धेरै स्थानमा भूमिगत पानीको सतह घटेको र ताजा पानीको भण्डारणमा दशकौँदेखि देखिएको गिरावटसमेत निरन्तर रहेको जनाइएको छ ।

डब्लुएमओका महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदीजस्ता दीर्घकालीन पानी भण्डार घट्दै जानु गम्भीर चिन्ताको विषय भएको बताए । उनले यी भण्डारले खडेरीका समयमा पानीको अभावलाई तत्काल सङ्कटमा परिणत हुन नदिने ‘बचत खाता’को काम गर्दै आएको उल्लेख गर्दै अहिले ती स्रोत तीव्र रूपमा खर्च भइरहेको बताए ।

सन् २०२३ देखि २०२५ सम्म विश्वका हिमनदीले करिब एक हजार चार सय गिगाटन पानी बराबरको द्रव्यमान गुमाएको अनुमान गरिएको छ । सन् २०२५ मा विश्वभर अनुगमन गरिएका करिब दुई तिहाइ कुवामा समेत ऐतिहासिक अवस्थाभन्दा फरक स्थिति देखिएको प्रतिवेदनमा उल्लेख छ ।

डब्लुएमओले एल निनोको सम्भावित प्रभावले आगामी दिनमा पानीसम्बन्धी जोखिम थप बढाउन सक्ने चेतावनी दिएको छ । यसका कारण केही क्षेत्रमा खडेरी र अन्य क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने जनाइएको छ ।

प्रतिवेदनअनुसार सन् २०२५ मा करिब ३६ प्रतिशत नदी बेसिनमा मात्र सामान्य पानी प्रवाह देखिएको थियो । त्यस्तै करिब ४३ प्रतिशतमा सामान्यभन्दा कम र २१ प्रतिशतमा सामान्यभन्दा बढी प्रवाह रहेको थियो ।

पानीको चक्रको अवस्था बुझ्न, जोखिम पूर्वानुमान गर्न र समयमै पूर्वचेतावनी दिन गुणस्तरीय तथ्याङ्क तथा अन्तरदेशीय सहकार्य आवश्यक रहेको डब्लुएमओले जनाएको छ । पानीको चक्रले राजनीतिक सीमा नमान्ने भएकाले एउटा देशमा हुने हिमनदी वा जलसम्बन्धी विपदले अर्को देशमा समेत ठूलो क्षति पुर्याउन सक्ने साउलोले बताए ।

  • एजेन्सीको सहयोगमा

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com