काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री हुँदै आएको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ ।
पृथ्वी राजमार्गमा यातायात सुचारु भएसँगै नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको मूल्य पुरानै अवस्थामा कायम गर्न उद्योगीहरूलाई निर्देशन दिएको हो । संघका अनुसार असोज २ गते शुक्रबारदेखि उपत्यकामा एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढीमा बिक्री गर्न पाइने छैन ।
गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गको केही भाग कटान गरेपछि सडक अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति गर्ने उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगबाट ग्यास रिफिल गरी वैकल्पिक लामो मार्ग हुँदै उपत्यकामा ल्याउँदै आएका थिए ।
वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा लागत बढेपछि संघले गत भदौ १८ गते नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा १ सय ५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च थप गरी २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न उद्योगीहरूलाई निर्देशन दिएको थियो ।
अहिले अवरुद्ध सडकखण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू सामान्य रूपमा काठमाडौँ आउन थालेका छन् । नियमित मार्गबाटै ग्यास ढुवानी हुन थालेपछि थपिएको ढुवानी खर्च हटाइएको संघले जनाएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले जारी गरेको परिपत्रमा काठमाडौँ उपत्यकामा ग्यास बिक्री गर्ने सबै उद्योगीलाई निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन निर्देशन दिइएको छ ।
संघले आफ्ना विक्रेता तथा डिलरहरूलाई समेत सोहीअनुसार मूल्य कायम गर्न जानकारी गराउन उद्योगीहरूलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया