काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल भूपरिवेष्टित राष्ट्र भए पनि समुन्द्रको स्वास्थ्यसँग नेपालको हिमाल, जलवायु र समग्र भविष्य प्रत्यक्ष रूपमा जोडिएको बताएकी छन् ।
प्रतिनिधिसभा बैठकमा बिहीबार ‘समुद्री जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी बीबीएनजे सम्झौता’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले पारिस्थितिक प्रणाली भौगोलिक सीमाभित्र मात्र सीमित नहुने बताइन् ।
उनका अनुसार हिमालबाट बग्ने नदी अन्ततः समुन्द्रमा पुग्ने भएकाले समुन्द्रको स्वास्थ्य नेपालको वातावरणीय भविष्यसँग समेत सम्बन्धित छ । समुन्द्रको तापक्रममा हुने परिवर्तनले मनसुन र वर्षाको स्वरूपमा असर पार्दा नेपालमा अतिवृष्टि, बाढी, पहिरो र खडेरीको जोखिम बढ्ने उनले बताइन् ।
मन्त्री गौतमले नेपालले बीबीएनजे सम्झौतामा हस्ताक्षर गर्न लागेको जानकारी दिँदै यसबाट सामुद्रिक वैज्ञानिक अनुसन्धान, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र सामुद्रिक आनुवंशिक स्रोतबाट हुने लाभमा सहभागिताको अवसर प्राप्त हुने बताइन् ।
उनले सम्झौताले नेपालको ‘पर्वतीय कूटनीति’लाई अन्तर्राष्ट्रिय मञ्चमा थप बलियो बनाउन सहयोग गर्ने दाबी गरिन् । सम्झौता कार्यान्वयनका लागि स्थापित अन्तर्राष्ट्रिय कोषबाट नेपालले आर्थिक सहयोग प्राप्त गर्न सक्ने उनको भनाइ छ ।
सम्झौता अनुमोदनपछि जैविक विविधता संरक्षण, आनुवंशिक स्रोतको उपयोग तथा प्रविधि हस्तान्तरणसँग सम्बन्धित आवश्यक राष्ट्रिय कानुन निर्माण र संशोधनको प्रक्रिया अघि बढाइने मन्त्री गौतमले जानकारी दिइन् ।
प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया