काठमाडौं । काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा कायम गरिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबारदेखि प्रतिसिलिन्डर अधिकतम २ हजार ६० रुपैयाँमा बिक्री गर्न उद्योगीहरूलाई निर्देशन दिएको हो ।
पृथ्वी राजमार्गको अवरुद्ध खण्डमा वैकल्पिक ट्रयाक सञ्चालनमा आएपछि ग्यास बुलेटहरू सिधै काठमाडौं आउन थालेकाले अतिरिक्त ढुवानी खर्च हटाइएको संघले जनाएको छ ।
गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको बाढीले पृथ्वी राजमार्ग कटान गरेपछि सडक अवरुद्ध भएको थियो । त्यसपछि उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन विभिन्न जिल्लाका प्लान्टबाट ग्यास रिफिल गरी वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत काठमाडौं ल्याइएको थियो ।
वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी खर्च बढेपछि संघले भदौ १८ गते प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा थप गरी अधिकतम २ हजार १६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न आग्रह गरेको थियो ।
तर अहिले वैकल्पिक ट्रयाक खुलेर नियमित यातायात सञ्चालनमा आएपछि थप ढुवानी खर्च हटाइएको संघले जनाएको छ । अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमार्फत संघले असोज २ गतेदेखि निगमले तोकेको मूल्यभन्दा बढी नलिन र सोहीअनुसार विक्रेतालाई जानकारी गराउन उद्योगीहरूलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया