काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भैरहवाका लागि दोहोरो हवाई रुट सञ्चालनको सहमति हुनु नेपालको नागरिक उड्डयन क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले लामो समयदेखिको नेपालको कूटनीतिक प्रयासले सार्थकता पाएको बताए । उनका अनुसार नेपालले विगत १० देखि १२ वर्षदेखि भारतसँग भैरहवाका लागि दोहोरो हवाई रुटको माग गर्दै आएको थियो ।
उनले यस उपलब्धिले भैरहवा विमानस्थलको अन्तर्राष्ट्रिय उडान विस्तार गर्नुका साथै नेपालको समग्र हवाई यातायात क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
वाग्लेले नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क काठमाडौंमा मात्र सीमित नराखी अन्य सहरबाट पनि विस्तार गर्नुपर्ने विषय प्रधानमन्त्रीले भारतसमक्ष प्रभावकारी रूपमा उठाएको जानकारी दिए । आगामी दिनमा महेन्द्रनगर, जनकपुरलगायतका क्षेत्रबाट समेत भारतीय तथा अन्य अन्तर्राष्ट्रिय सहरसँग हवाई सम्पर्क विस्तार गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।
भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बागडोग्रा विमानस्थल तथा नेपाली भूमि वा ‘चिकेन नेक’ क्षेत्रसँग जोडेर सार्वजनिक भएका समाचारबारे मन्त्री वाग्लेले खण्डन गरे । त्यस्तो कुनै सहमति वा गतिविधि नभएको स्पष्ट पार्दै उनले यस्ता भ्रामक प्रचारमा विश्वास नगर्न र त्यसलाई फैलाउने काम नगर्न सांसदहरूलाई आग्रह गरे ।
सुनकोसी–सप्तकोसी आयोजनाबारे उठेका प्रश्नको जवाफ दिँदै उनले नेपाल र भारत सरकारको संयुक्त परियोजना कार्यालय विराटनगरमा सन् २००४ देखि नै सञ्चालनमा रहेको बताए ।
‘विकसित भारत–समुन्नत नेपाल’ दस्तावेजले घरेलु योजनामा असर गर्दैन
अर्थमन्त्री वाग्लेले भारत र नेपालबीच तयार गरिएको ‘विकसित भारत–समुन्नत नेपाल’ भिजन डकुमेन्टले नेपालको आन्तरिक नीति, योजना तथा बजेटमा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारे ।
उनका अनुसार दस्तावेजमा समेटिएका १० वटा क्षेत्र द्विपक्षीय सहकार्यका आधार हुन् । विगत सात दशकदेखि हुँदै आएको भारतीय सहयोगलाई छरिएर रहेका परियोजनामा सीमित नराखी कनेक्टिभिटी, आर्थिक साझेदारी, शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद र पर्यटनलगायतका क्षेत्रमा संस्थागत तथा समन्वयात्मक बनाउने उद्देश्यले उक्त दस्तावेज ल्याइएको हो ।
यसले नेपालको कृषि रणनीति, आवधिक योजना तथा वार्षिक बजेटमा कुनै असर नपार्ने उनको दाबी छ ।
बैठकमा एमाले सांसद डा. पुष्पराज कँडेलले भैरहवाको दोहोरो हवाई रुटलाई सकारात्मक उपलब्धि भन्दै भारतीय सञ्चारमाध्यममा आएका नेपाली भूमि र बागडोग्रा विमानस्थलसम्बन्धी समाचारबारे सरकारको आधिकारिक धारणा माग गरेका थिए । उनले सप्तकोसी आयोजनामा सुनकोसीको नाम जोडिनुको कारणबारे पनि प्रश्न उठाएका थिए ।
कँडेलले भारतको नीति आयोगले ‘विकसित भारत’ को विस्तृत कार्ययोजना तयार पारे पनि नेपालमा ‘समुन्नत नेपाल’ सम्बन्धी स्पष्ट दस्तावेज नभेटिएको विषय उठाएका थिए ।
प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार












प्रतिक्रिया