ढाका । बङ्गलादेशको सिलेटबाट बेलायतको लन्डनतर्फ उडिरहेको विमानमा दुई यात्रुबीच कुटाकुट भएको छ ।
विमान बङ्गलादेश एयरलाइन्सको उक्त उडानमा १७ सेप्टेम्बर २०२६ मा दुई यात्रुबीच सुरुमा भनाभन भएको थियो । विवाद बढ्दै गएपछि उनीहरूले एक–अर्कामाथि लात्ती र मुक्का प्रहार गर्न थालेका थिए ।
विमानभित्रै दुई यात्रुबीच कुटाकुट भएपछि केही समय होहल्ला मच्चिएको थियो । अन्य यात्रुले झगडा रोक्ने प्रयास गरे पनि दुवैबीच कुटाकुट जारी रहेको बताइएको छ । घटनाका क्रममा एक यात्रुको टी–सर्टसमेत च्यातिएको थियो ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा दुई यात्रु आपसमा कुटाकुट गरिरहेको र अन्य यात्रुले उनीहरूलाई छुट्याउने प्रयास गरिरहेको देखिन्छ ।
घटनाबारे विमान बङ्गलादेश एयरलाइन्सका महाप्रबन्धक महबुबुद्दिन अहमदले आफूलाई तत्काल जानकारी नभएको बताएका छन् । उनले घटनाबारे बुझ्ने बताएका छन् ।
बङ्गलादेशी सञ्चारमाध्यमका अनुसार घटनाको कारण र झगडाबारे थप विवरण भने सार्वजनिक भएको छैन ।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया