काठमाडौं। बुढानीलकण्ठ यू–१६ ब्वाइज टी–वान रग्बी प्रतियोगिताको उपाधि इन्टरनेसनल जोसेफ स्कुलले जितेको छ।

नेपाल विद्यालय रग्बी आयोगको आयोजनामा बुढानीलकण्ठ नगरपालिका–१०, आकाशेधारास्थित ह्यान्डबल बहुउद्देश्यीय खेलमैदानमा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा इन्टरनेसनल जोसेफ स्कुलले जोसेफ हाइस्कुललाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो।

उपाधिसँगै इन्टरनेसनल जोसेफ स्कुलले नगद सात हजार रुपैयाँ प्राप्त गर्दा जोसेफ हाइस्कुलले पाँच हजार रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताको उत्कृष्ट खेलाडी इन्टरनेसनल जोसेफ स्कुलका पासाङ शेर्पा घोषित भए। उनले ट्रफी प्राप्त गरे।

यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा शिशु मिलन स्कुलले अमर स्कुललाई १–० ले पराजित गर्‍यो। तेस्रो भएको शिशु मिलन स्कुलले तीन हजार तथा चौथो भएको अमर स्कुलले दुई हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको समापन समारोहमा बुढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराई प्रमुख अतिथि तथा नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे विशेष अतिथिका रूपमा उपस्थित थिए।

सो अवसरमा वडाध्यक्ष भट्टराईले बुढानीलकण्ठ नगरपालिका–१० रग्बीसहित विभिन्न खेलका लागि राम्रो सम्भावना बोकेको क्षेत्र रहेको बताए। उनले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्न सकिने भएकाले आगामी दिनमा पनि यस्ता प्रतियोगिता सञ्चालनका लागि आफ्नो तर्फबाट निरन्तर साथ र सहयोग रहने बताए।

यसअघि भएको उद्घाटन समारोहमा पूर्वऊर्जामन्त्री कुलमान घिसिङ प्रमुख अतिथि तथा नेपाल रग्बी संघका अध्यक्ष डा. दीपक देवकोटा विशेष अतिथि थिए। प्रतियोगितामा १७ विद्यालयले सहभागिता जनाएका थिए।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com