काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले संविधानलाई विरोध र समर्थनको राजनीतिक अस्त्र बनाउन आवश्यक नरहेको बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै खत्रीले एक वर्षअघि आफूले ‘दुईतिहाइ ल्याएर संविधान उल्टाऊ, सडकमा तमासा नदेखाऊ’ भनेको र अहिले ‘संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा गरौं’ भन्ने अवस्था आएको उल्लेख गरेका छन्।

उनले अहिले संविधानको चिन्ताले कोही आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। नयाँ पुस्ता संविधानको पक्षमा नरहेको भए जेनजी आन्दोलनपछि दुई पेजको संविधानले देश चलिरहेको हुने उनको टिप्पणी छ।

संविधान संशोधनको विषयमा पनि डराउन आवश्यक नरहेको भन्दै खत्रीले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डताबाहेक अन्य विषयमा संविधान संशोधन गर्न रोक नलगाइएको उल्लेख गरेका छन्।

उनले यथार्थता र समाजका सपनालाई समेट्ने गरी संविधान लेखिनुपर्ने तथा समाज र राजनीतिको बदलिँदो अपेक्षालाई सम्बोधन गर्ने गरी संविधानमा सुधार हुँदै जानुपर्ने बताएका छन्। जनताको चाहना भए राजतन्त्र र हिन्दू राज्य फर्काउनसमेत संविधान बाधक नरहेको उनको भनाइ छ।

‘पछाडि फर्किने कुरा स्वीकार्य छैन’ भन्दै धम्क्याउँदै संविधानलाई विरोध र समर्थनको राजनीतिक अस्त्र बनाउन नहुने खत्रीले बताएका छन्।

संविधानलाई राजनीतिक यथार्थताभन्दा कानुनको साँघुरो घेरामा सीमित गर्न नहुने उनको भनाइ छ। संविधानलाई कानुनका ‘यान्त्रिक’ पासोमा फसाइए त्यसले राजनीतिक वैधता गुमाउँदै जाने उनले टिप्पणी गरेका छन्।

सांसद खत्रीले संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com