काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहले शहीदको बलिदानबाट प्राप्त संविधानलाई व्यवहारमै कार्यान्वयन गरेर पूर्णता दिनुपर्ने बताए ।
‘संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ, म यो बाचा आज फेरि दोहोर्याउँछु,’ उनले भने, ‘संविधान जारी भएको दिन हरेक वर्ष आउँछ तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ– हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट र नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट ।’
प्रधानमन्त्री शाहले जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको अपेक्षा गरेको उल्लेख गर्दै सरकारका हरेक कदम त्यही आकाङ्क्षा पूरा गर्न केन्द्रित रहने बताए ।
उनले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी शासनलाई सरकारका लागि केवल सर्त नभई राष्ट्रिय जीवनका आधारका रूपमा लिएको बताए ।
‘यस संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ– विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य तथा विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण,’ उनले भने ।
संविधान कार्यान्वयनमा इमानदार नेतृत्व र निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गर्दै शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने संयन्त्र इमानदार र सक्रिय नभए त्यसको उद्देश्य पूरा हुन नसक्ने बताए ।
उनले भ्रष्टाचार र दण्डहीनताको अन्त्य सरकारको प्रमुख प्राथमिकतामध्ये रहेको बताए ।
‘यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ । तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन्,’ उनले भने ।
विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनयन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्तिको नीति सरकारले अघि बढाएको बताए ।
‘सुशासन नारा होइन, काम हो । हामी काम गरिरहेका छौँ,’ उनले भने ।
संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य हासिल गर्न संघीय सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।
प्रधानमन्त्री शाहले सरकार पुरानै ढर्रामा सीमित नरहने भन्दै कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगसँगै अघि बढाएर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने बताए ।
नवप्रवर्तन र नवउद्यमलाई प्राथमिकतामा राखिने उल्लेख गर्दै उनले डिजिटल सुशासन कार्ययोजनाअनुसार निर्माण भइरहेको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसको आधार भएको बताए ।
‘युवाले सडकमा मागेको सुशासन प्रविधिबाट पनि सुनिश्चित गरिनेछ,’ उनले भने ।
प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी र आम नागरिकप्रति आभार व्यक्त गरे ।
उनले विपद् व्यवस्थापनमा पूर्वतयारी र जोखिम न्यूनीकरणलाई प्राथमिकता दिने बताए ।
‘धन्यवाद मात्र पर्याप्त छैन । नेपाल विश्वका विपद् उच्च जोखिम भएका मुलुकहरूको सूचीमा छ । यो तथ्यलाई हामी विपद् आइसकेपछि होइन, आउनुअघि नै सामना गर्छौँ,’ उनले भने ।
जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा विशेष जोड दिँदै विपद्को पूर्वसूचना प्रणालीलाई सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने उनले बताए ।
प्रधानमन्त्री शाहले नेपालको राजनीतिक व्यवस्था परिवर्तन तथा सुशासनको माग गर्दै भएका आन्दोलनमा ज्यान गुमाउने ज्ञात–अज्ञात शहीद र जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।
भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति पनि उनले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार












प्रतिक्रिया