काठमाडौं। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरेको विशेष समारोहमा उच्चपदस्थ अधिकारी, राजनीतिक दलका शीर्ष नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत संवैधानिक निकायका पदाधिकारी तथा विभिन्न राजनीतिक दलका अध्यक्ष एवं सभापतिहरू सहभागी भएका थिए। विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

समारोहका क्रममा प्रधानमन्त्री शाह विभिन्न विदेशी नियोगका प्रतिनिधिहरूसँग भेटघाट र शुभकामना आदानप्रदान गर्दै गरेको देखिन्थे। राष्ट्रपति पौडेल, उपराष्ट्रपति यादव, प्रधानन्यायाधीश शर्मा, सभामुख अर्याललगायतसँग पनि प्रधानमन्त्री शाहले हात मिलाउँदै संविधान दिवसको शुभकामना आदानप्रदान गरेका थिए।

विशेषगरी विदेशी कूटनीतिक प्रतिनिधिहरूसँग प्रधानमन्त्री शाहले केहीबेर कुराकानीसमेत गरेका थिए। समारोहमा सहभागीहरूबीच औपचारिक भेटघाट, शुभकामना आदानप्रदान र समसामयिक विषयमा संक्षिप्त कुराकानी चलिरहँदा प्रधानमन्त्री शाहसँगको भेटघाटतर्फ कूटनीतिक प्रतिनिधिहरूको चासो देखिएको थियो।

यसअघि संविधान दिवस तथा राष्ट्रिय दिवसको मूल समारोह काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको थियो। उक्त समारोहमा पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सुरक्षा निकायका प्रमुख तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी भएका थिए।

नेपालको संविधान २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ। यस वर्ष राष्ट्रपति पौडेलले संविधान दिवसको सन्देशमा संविधानको पूर्ण कार्यान्वयन, विधिको शासन, सुशासन तथा नागरिकका अधिकार र सेवामा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com