काठमाडौं । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने आवाज उठिरहेका बेला नेता सूर्य थापाले महासचिव शंकर पोखरेलसहितका नेताहरूमाथि कटाक्ष गरेका छन्।

थापाले ओलीकै प्यानलबाट महाधिवेशनमा निर्वाचित भएका नेताहरूले अहिले आएर अध्यक्षको राजीनामा माग्नु उपयुक्त नहुने टिप्पणी गरेका छन्।

उनले महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू ओलीकै प्यानलबाट निर्वाचित भएको उल्लेख गर्दै नेतृत्व पुनर्गठनको माग उनीहरूले गर्न नमिल्ने तर्क गरेका हुन्।

बरु नेतृत्व परिवर्तन र पुनर्गठनको विषयमा फरक समूहमा रहेका ईश्वर पोखरेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायत नेताहरूले ओलीलाई राजीनामा दिन आग्रह गर्न सक्ने थापाको भनाइ छ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन्, ‘ईश्वर पोखरेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायत १२ भाइले “छाड्नुस्” भन्न मिल्छ। अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन !’

यसअघि एमाले पुनर्गठनसम्बन्धी प्रतिवेदनमा उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने विषय उठाएका थिए। उक्त प्रतिवेदनको ओलीले विरोध गर्दै आएका छन्।

पोखरेलको प्रतिवेदनको प्रतिवादमा ओलीले उपाध्यक्ष विष्णु पौडेल ‘बादल’ र नेता प्रदीप ज्ञवालीलाई अर्को प्रतिवेदन तयार गर्न लगाएका थिए।

एमालेभित्र नेतृत्व र पार्टी पुनर्गठनको विषयमा तीनवटा छुट्टाछुट्टै प्रतिवेदन तयार भइसके पनि विवाद समाधान हुनुको साटो थप पेचिलो बन्दै गएको नेताहरूले बताउँदै आएका छन्।

प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com