काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेको घटनाप्रति चासो व्यक्त गर्दै पक्राउको स्पष्ट कारण सार्वजनिक गर्न माग गरेका छन्।
बस्नेतले फरक विचार र आलोचना लोकतन्त्रका शत्रु नभएको उल्लेख गर्दै पक्राउको कानुनी आधार र प्रक्रियाबारे सरकार स्पष्ट हुनुपर्ने बताएका हुन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेको खबर गम्भीर छ। फरक विचार र आलोचना लोकतन्त्रका शत्रु होइनन्। पक्राउको स्पष्ट कारण सार्वजनिक गरियोस्।’
बस्नेतले दाहालमाथि भइरहेको कानुनी प्रक्रिया पारदर्शी बनाउन पनि सरकारसँग आग्रह गरेका छन्। सरकार आलोचनाबाट डराउनेभन्दा आलोचनाप्रति जवाफदेही हुनुपर्ने उनको भनाइ छ।
‘कानुनी प्रक्रिया पारदर्शी बनोस्। सरकार आलोचनाबाट डराउने होइन, जवाफदेही बन्ने हो,’ उनले भनेका छन्।
फरक मतलाई निषेध गर्ने प्रवृत्तिले लोकतान्त्रिक अभ्यास कमजोर पार्न सक्ने भन्दै बस्नेतले सरकारलाई सचेतसमेत गराएका छन्।
उनले फरक मत निषेध गर्दै ‘अलोकतान्त्रिक र अधिनायकवादी बाटो’ रोजे जनआवाज विद्रोहमा परिणत हुन सक्ने दाबी गरेका छन्।
‘यस्तो प्रवृत्तिले अन्ततः बालेन सरकारलाई नै ठूलो क्षति पुर्याउनेछ,’ बस्नेतले भनेका छन्।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार












प्रतिक्रिया