काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले ‘द ग्रे जोन’ नामक रिपोर्टमा नाम जोडिएका व्यक्तिहरूले त्यसमा उठाइएका विषयबारे जनतालाई स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले रिपोर्ट गलत भए सम्बन्धित पक्षले तथ्यगत रूपमा खण्डन गर्नुपर्ने र गलत नभए रिपोर्टमा उठाइएका प्रश्नको जवाफ दिनुपर्ने बताएका हुन् ।
उनले उक्त रिपोर्टबारे व्याख्या गरेको आरोपमा राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेको विषयमा समेत प्रश्न उठाए । रिपोर्ट गलत भएको भए त्यसमा उठाइएका विषयको खण्डन गर्नुको साटो रिपोर्टबारे बोल्ने व्यक्तिलाई पक्राउ गरिनुले थप प्रश्न जन्माएको उनको भनाइ थियो ।
बस्नेतले रिपोर्टमा प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गृहमन्त्री सुदन गुरुङ र सांसद रञ्जु दर्शना लगायतको नाम जोडिएको दाबी गर्दै सम्बन्धित व्यक्तिहरूले त्यसबारे गम्भीर रूपमा स्पष्ट पार्नुपर्ने बताए ।
‘ग्रे जोनको रिपोर्ट गलत भए सम्बन्धित पक्षले त्यसबारे स्पष्ट पार्नुपर्छ र स्पष्टीकरण दिनुपर्छ,’ उनले भने, ‘रिपोर्टमा बालेन शाह, रवि, सुदन, रञ्जु दर्शना लगायतका व्यक्तिबारे गम्भीर प्रश्न उठाइएको भन्दै उनीहरूले त्यसको जवाफ दिनुपर्छ ।’
बस्नेतले भदौ २३ र २४ गते भएका घटनामा विदेशी शक्तिको प्रभाव रहेको भन्ने विषयमा समेत निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए । सिंहदरबार, सर्वोच्च अदालत र संसद् लगायत राज्यका महत्त्वपूर्ण संरचनामा भएको क्षति तथा हिंसात्मक गतिविधिबारे तथ्यमा आधारित छानबिन गरी दोषी पाइए कानुनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।
‘विदेशी शक्तिको प्रभावमा मुलुकका महत्त्वपूर्ण संरचनामाथि ध्वंसात्मक गतिविधि गराइएको हो भने त्यसबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी रूपमा कडा कारबाही हुनुपर्छ,’ बस्नेतले भने ।
उनले संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रको आधार कमजोर पार्ने गरी संविधान संशोधन गर्न नहुने एमालेको धारणा रहेको बताए । उनका अनुसार संविधान संशोधन भावनाका आधारमा नभई राज्य संरचना, स्रोत–साधनको व्यवस्थापन र नागरिकका अधिकारलाई ध्यानमा राखेर गर्नुपर्छ ।
बस्नेतले संघीयतालाई कम खर्चिलो र प्रभावकारी बनाउने विषयमा भने छलफल गर्न सकिने बताए । तर संघीयता नै हटाउने प्रस्ताव स्वीकार्य नहुने उनको भनाइ थियो ।
महिला, दलित, आदिवासी जनजाति, मधेसी लगायत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने संवैधानिक व्यवस्थालाई कमजोर पार्न नहुने उनले बताए । त्यस्तै, राजतन्त्र पुनर्स्थापना गर्ने वा धर्मनिरपेक्षता हटाउने विषयमा उठेका आवाजप्रति पनि एमाले सहमत नरहेको उनको भनाइ थियो ।
‘राजतन्त्र पुनर्स्थापना गर्ने वा धर्मनिरपेक्षता हटाउने विषयमा उठेका आवाजप्रति पनि एमाले सहमत छैन,’ उनले भने, ‘राज्यले सबै धर्म र समुदायलाई समान व्यवहार गर्नुपर्छ । दुई सदनात्मक संसद्, संघीयता र समावेशी लोकतन्त्र संविधानका महत्त्वपूर्ण आधार हुन् ।’
बस्नेतले वर्तमान सरकारले संविधान संशोधनका नाममा मुलुकलाई प्रतिगमनतर्फ लैजान खोजेको हो कि भन्ने आशंका रहेको बताए । राष्ट्रिय सभाको भूमिकालाई कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै उनले दुई सदनात्मक व्यवस्थाबाट पछि हट्न नसकिने बताए ।
संविधान दिवसका अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित चियापान समारोहमा एमालेका नेताहरूको उपस्थिति वा अनुपस्थितिलाई आधार बनाएर पार्टीको संविधानप्रतिको प्रतिबद्धता मूल्यांकन गर्न नहुने उनको भनाइ थियो ।
‘संविधान दिवसका अवसरमा राष्ट्रपतिज्यूले आयोजना गर्नुभएको चियापान कार्यक्रममा एमालेका नेता देखिए वा देखिएनन् भन्ने फोटोका आधारमा संविधान दिवस मनाएको मूल्यांकन गर्न मिल्दैन,’ बस्नेतले भने, ‘एमालेले संविधान दिवस मनदेखि नै मनाएको छ । संविधान निर्माणमा नेकपा एमालेको महत्त्वपूर्ण भूमिका छ ।’
उनले संविधान निर्माणका क्रममा भएको वैदेशिक हस्तक्षेप रोक्नेदेखि दोस्रो संविधानसभामार्फत संविधान जारी गर्ने प्रक्रियासम्म तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको विशेष भूमिका रहेको दाबी गरे ।
बस्नेतले एमाले केन्द्रीय कमिटी बैठकपछि पार्टी थप एकताबद्ध र संगठित भएर वर्तमान सरकारका गतिविधिविरुद्ध कार्यक्रमसहित अघि बढ्ने बताए ।
‘अहिले विकास निर्माण अवरुद्ध भइरहेको र जनताका अपेक्षा पूरा हुन नसकेको अवस्थामा संविधान पुनर्लेखन वा संशोधनको बहानामा मुलुकलाई प्रतिगमनतर्फ लैजाने प्रयास त भइरहेको छैन भन्ने हाम्रो गम्भीर शंका छ,’ उनले भने ।
‘संविधानको अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरिएको विषय भने स्वागतयोग्य छ । ग्रे जोनको रिपोर्टलगायतका विषयमा पनि गम्भीर प्रश्न उठेका छन् । राष्ट्रियता र मुलुकको सार्वभौम हितमा असर पर्ने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन,’ उनले बताए ।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार












प्रतिक्रिया