काठमाडौं । बालगायकका रूपमा चर्चामा आएका अशोक दर्जीले आफ्नो वर्तमान अवस्था र आर्थिक कठिनाइबारे सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन् ।
दर्जीले फेसबुकमा लामो स्टाटस लेख्दै आफू अहिले आर्थिक अभावमा रहेको बताएका हुन् । बाल्यकालदेखि नै संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले जीवनमा हार–जित र अनेक उतारचढाव भोगेको बताएका छन् ।
‘जीवनमा जे हुनु थियो, धेरै चिज भइसकेको छ । मेरो लाइफमा मैले हार पनि खाएँ, जितें पनि, फेरि लडें पनि । आज म सडकको बच्चा सडकमै छु, मेरो यात्रा दिन त्यस्तै नै छ,’ उनले लेखेका छन् ।
दसैँ–तिहार नजिकिँदै गर्दा परिवार तथा भाइबहिनीको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको उनले बताएका छन् । पढ्ने उमेरमा समेत पैसा कमाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै दर्जीले आफ्नो भविष्यसँगै परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने अवस्था रहेको बताएका छन् ।
आफ्नो आर्थिक अवस्थाबारे उनले लेखेका छन्, ‘आज मसँग न पैसा छ, न बैंक ब्यालेन्स छ । धन्य, एउटा घर छ, जुन हजुरहरूको सहयोगबाट बनेको हो । अनि कसैले दिनुभएको अधिया जग्गा छ।’
गरिब परिवारमा जन्मनु आफ्नो गल्ती नभएको उल्लेख गर्दै उनले गरिबीप्रति आफूलाई दुःख नभए पनि त्यसले जीवनमा विभिन्न कठिनाइ थपेको बताएका छन् ।
यद्यपि, संघर्षबाट पछि नहट्ने र आफूबाट समाजले राखेको अपेक्षा पूरा गर्न पुनः अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
संगीतकार टंक बुढाथोकीसँगको विगतको विवादतर्फ संकेत गर्दै दर्जीले आफू धेरै थाकिसकेको र अब जीवनलाई सहज ढंगले अघि बढाउन चाहेको बताएका छन् ।
उनले आफू छिट्टै नयाँ गीतमार्फत दर्शक तथा श्रोतामाझ आउने तयारीमा रहेको जानकारी दिँदै सबैको माया र साथको अपेक्षा गरेका छन् ।
आफ्नो अभिव्यक्ति कसैलाई दोष लगाउने उद्देश्यले नभएको स्पष्ट पार्दै दर्जीले आफूबाट कुनै गल्ती भएको भए क्षमा गरिदिनसमेत आग्रह गरेका छन् ।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार












प्रतिक्रिया