काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि नयाँ शहर निर्माण गर्ने योजना अघि बढाइने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले बाढीबाट क्षति भएको स्थानमा पुनः बस्ती बसाल्न सम्भव नरहेकाले सुरक्षित स्थानमा नयाँ शहर विकास गर्ने योजना रहेको जानकारी दिए ।

उनका अनुसार नयाँ शहरमा उद्योग, अस्पताल, विद्यालयलगायत आवश्यक पूर्वाधार तथा सेवा–सुविधा समेटिनेछन् । त्यसका लागि आवश्यक जग्गा खरिद गरेर योजनाबद्ध रूपमा बस्ती विकास गरिने उनले बताए ।

‘अब हामी नयाँ शहर बनाउने अवधारणामा जानेछौँ । अहिले भूकम्पभन्दा फरक तरिकाले जानुपर्नेछ । जुन स्थानमा क्षति भएको हो, त्यही स्थानमा फर्काउने योजना छैन,’ मन्त्री लम्सालले भने ।

उनले भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि छुट्टै नयाँ प्राधिकरण गठन नगर्ने पनि स्पष्ट पारे ।

बाढीपछिको पुनर्निर्माण, पुनःस्थापना तथा विपद् व्यवस्थापनका कामलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप शक्तिशाली बनाइने उनको भनाइ थियो ।

सरकारले बाढी प्रभावित क्षेत्रको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा योजनाबद्ध बस्ती विकास गर्ने र आवश्यक पूर्वाधारसहित नयाँ शहर निर्माणको अवधारणा अघि बढाउने मन्त्री लम्सालले बताए ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com