काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई भेटेका छन् ।

भेटका क्रममा कांग्रेस नेताहरूले प्रधानमन्त्रीको अमेरिका भ्रमणमार्फत भोटेकोशी विपद्, जलवायु परिवर्तनको असर तथा हिमाली राष्ट्रका समस्यालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा प्रस्तुत गर्न आग्रह गरेका छन् ।

सोमबार प्रधानमन्त्रीसँगको भेटपछि कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनका विषयमा तयार पारेको अवधारणा प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको जानकारी दिए ।

भेटमा कांग्रेसका प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेसहित शर्माको सहभागिता थियो । त्यस क्रममा संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले उठाउनुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा विस्तृत छलफल भएको शर्माले बताए ।

उनका अनुसार भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको मानवीय र भौतिक क्षतिलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्वको ध्यान नेपालतर्फ आकर्षित गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

शर्माले जलवायु संकटलाई विश्व समुदायको साझा सरोकारका रूपमा प्रस्तुत गर्न विभिन्न मुलुकले आफ्नै भोगाइसँग नेपालको विपद्लाई जोडेर बुझ्ने वातावरण बनाउनुपर्ने सुझाव दिइएको बताए ।

‘नेपालमा आएको विपद् र जलवायु संकटलाई अन्तर्राष्ट्रिय समुदायले आफ्नै पीडाका रूपमा महसुस गर्ने गरी विषय उठाउनुपर्छ,’ शर्माले भने ।

कांग्रेसले नेपालले विश्वको कुल कार्बन उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायु परिवर्तनका कारण ठूलो क्षति व्यहोर्नुपरेको विषय तथ्य र प्रमाणसहित संयुक्त राष्ट्रसंघको मञ्चमा प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

त्यस्तै, हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिइरहेको भन्दै नेपालले हिमाली राष्ट्र तथा जलवायु परिवर्तनबाट प्रभावित साना राष्ट्रको साझा आवाज उठाउनुपर्नेमा कांग्रेस नेताहरूले जोड दिएका छन् ।

‘विश्व जोगाउन पहिला हिमाल जोगाउनुपर्छ’ भन्ने मान्यताका साथ नेपालले अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको धारणा थियो ।

ठूला कार्बन उत्सर्जक राष्ट्रहरूसँग कूटनीतिक परिपक्वताका साथ संवाद गर्दै सन् २०१५ को पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि दबाब सिर्जना गर्नुपर्नेमा समेत कांग्रेसले जोड दिएको छ ।

भोटेकोशी विपद्मा ज्यान गुमाएका नागरिक तथा आफन्तको पहिचानका लागि अस्पतालमा डीएनए परीक्षणको पर्खाइमा रहेका परिवारको मानवीय पीडालाई समेत संयुक्त राष्ट्रसंघको मञ्चमा उठाउन कांग्रेसले प्रधानमन्त्रीलाई आग्रह गरेको शर्माले बताए ।

प्रधानमन्त्रीको महासभा सम्बोधनका अतिरिक्त साइडलाइन भेटवार्ता, द्विपक्षीय छलफल तथा कूटनीतिक संवादमार्फत नेपालका जलवायु र विपद्सम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय ऐक्यबद्धता जुटाउन कांग्रेसले आग्रह गरेको छ ।

भेटका क्रममा कांग्रेस नेताहरूले प्रधानमन्त्रीको अमेरिका भ्रमण सफल रहोस् भन्दै नेपालका राष्ट्रिय मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्न शुभकामना दिएका थिए ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com