काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिका र भारतबीच बढ्दै गएको सुरक्षा सहकार्यले सन्देह उत्पन्न गरेको बताएका छन् ।
बुधबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले विश्व राजनीतिमा एसियाको बढ्दो प्रभाव, चीनको शान्तिपूर्ण उदय र भारतको विश्व शक्तिका रूपमा अघि बढ्ने आकांक्षाबारे चर्चा गरेका छन् ।
ओलीले विश्व अर्थतन्त्र, नवप्रवर्तन र जनसङ्ख्याको केन्द्रका रूपमा एसियाको उदयले नयाँ अवसरसँगै विशिष्ट चुनौतीसमेत सिर्जना गरेको उल्लेख गरेका छन् ।
प्रतिवेदनमा उनले भनेका छन्, ‘विश्व अर्थतन्त्र, नवप्रवर्तन र जनसङ्ख्याको केन्द्रबिन्दुका रूपमा एसियाको उदयले महत्वपूर्ण अवसर र विशिष्ट चुनौती प्रस्तुत गरेको छ । चीनको शान्तिपूर्ण उदय यस ऐतिहासिक चरणको महत्वपूर्ण पक्ष हो । भारतले पनि स्वतन्त्रतापश्चात् महत्वपूर्ण प्रगति हासिल गरेको छ र विश्व शक्तिको आकांक्षा राखेको छ ।’
ओलीले भारतले छिमेकी मुलुकहरूसँगका विभिन्न विषय अझै समाधान गर्न बाँकी रहेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।
यही सन्दर्भमा उनले अमेरिका र भारतबीच बढ्दो सुरक्षा सहकार्यप्रति प्रश्न उठाउँदै भनेका छन्, ‘अमेरिका र भारतबीच बढ्दो सुरक्षा सहकार्यले सन्देह पैदा गरेको छ ।’
ओलीले आफ्नो प्रतिवेदनमा पछिल्लो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, एसियाको बदलिँदो भूमिका तथा छिमेकी मुलुकहरूको रणनीतिक गतिविधिबारे एमालेको दृष्टिकोण प्रस्तुत गरेका छन् ।
प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार










प्रतिक्रिया