काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीबीच जरिबाना तिर्ने विषयमा विवाद भएको खुलेको छ ।
रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बस चालक काभ्रेका २५ वर्षीय दावा लामाले आफूले गल्ती नगरेको भन्दै जरिबाना तिर्न अस्वीकार गरेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सुनिन्छ । भिडियोमा उनले आफूलाई बिना कसुर जरिबाना तिराउन खोजिएको गुनासो गरेका छन् ।
विवादका क्रममा चालकले आफूले ट्राफिक प्रहरीलाई सम्मान गर्दै माफी मागिसकेको तर पनि जरिबाना तिर्न दबाब दिइएको बताएका छन् । ट्राफिक प्रहरीले भने नियम उल्लंघन भएकाले जरिबाना तिर्नुपर्ने बताएको भिडियोमा देखिन्छ ।
विवाद चर्किँदै गएपछि चालकले आफू काम गर्ने व्यक्ति भएको र ‘मर्न तयार छु’ भन्दै आक्रोश व्यक्त गरेको सुनिन्छ । त्यसको केही समयपछि बसको पछिल्लो भागबाट आगो दन्किएको देखिन्छ ।
आगलागीमा चालक लामा गम्भीर घाइते भएका छन् । प्रहरीले उद्धार गरी उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको थियो । उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार











प्रतिक्रिया